
सुनसरी — हर्बल सामग्रीको मार्केटिङको बहानामा बालबालिकालाई बन्धक बनाएर काममा लगाउने गिरोहको फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ स्थित बसपार्क नजिकैको बन्दना होटल बाट १२ जना बालबालिकाको उद्धार गरेको हो । घटनामा संलग्न रहेका दुई व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनु भएको छ ।
कम्पनीको नाममा टिकटकमार्फत प्रलोभन
काठमाडौंको चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि. नामक कम्पनीले टिकटकमा हर्बल सामग्रीको मार्केटिङका लागि आकर्षक विज्ञापन प्रकाशित गरेको थियो। उक्त विज्ञापन हेरेर धनकुटा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, गोरखा, बाजुरा लगायतका जिल्लाबाट बालबालिका तथा युवाहरू कामको आशामा काठमाडौं पुगेका थिए ।
उनीहरूलाई सुरुमा काठमाडौंमा करिब एक महिना राखेर काम गराइएको र त्यसपछि इटहरी स्थानान्तरण गरी बन्दना होटलमा राखिएको थियो । उनीहरूलाई जबरजस्ती सामग्री बेच्न पठाइन्थ्यो भने घर फर्कन अनुमति नदिइ धम्की दिइन्थ्यो ।
यौन शोषणको उजुरीपछि घटना सार्वजनिक
सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले आफूलाई असार १ र २ गते शरीर बन्धक बनाएर यौन दुव्र्यवहार गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । उजुरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले होटलमा छापा मारेको थियो । प्रहरीले घटना संलग्न कम्पनीका मार्केटिङ म्यानेजर ओखलढुंगाको खिजीदिम्बा गाउँपालिका–१ निवासी २९ वर्षीय तिलक श्रेष्ठ र सोलुखुम्बु नेचाकी २२ वर्षीया टीका कट्टेललाई पक्राउ गरेको छ ।
दुवै जनाले आफूसँग रहेका व्यक्तिहरूलाई मानसिक दबाब दिँदै बन्धक बनाएको, घर जान नदिएको, जबरजस्ती पूर्वी सहरहरू—जस्तै धरान र इटहरीमा—सामान बेच्न पठाएको उजुरीका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार उद्धार गरिएका १२ जनामध्ये अधिकांश बालिका रहेका छन् । तीमध्ये दुई जनाको स्वास्थ्य परीक्षण गराई सुरक्षित स्थानमा राखिएको छ भने अन्यलाई हाल प्रहरीको निगरानीमा सोही होटलमा राखिएको छ ।
प्रहरीले घटनालाई मानव बेचबिखन, बालश्रम शोषण, र यौन दुव्र्यवहारसम्बन्धी गम्भीर अपराधको रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।





