
इटहरी / इटहरी उपमहानगरपालिका–१२ स्थित खनार शान्तिटोलमा बन्द गरिएको एक अक्सफाल्ट उद्योग पुनः कानुनी प्रक्रिया विना सञ्चालनको प्रयास गरिएको भन्दै स्थानिय बासिन्दाले कडा आपत्ति जनाएका छन् ।
सडक निर्माणको उद्देश्यले अस्थायी रुपमा स्थापना गरिएको सो अक्सफाल्ट प्लान्ट रानी–विराटनगर–इटहरी–धरान छ लेन सडक आयोजनाअन्तर्गत प्रयोगमा ल्याइएको थियो । परियोजनाको काम सकिएपछि समेत उद्योगले अन्यत्र उत्पादन बिक्री गरिरहेको पाइएको थियो । लामो समयदेखि उद्योगका कारण धुलो, धुँवा र आवाजको असर झेलेका शान्तिटोलका बासिन्दाले निरन्तर आन्दोलन र दबाबपछि उद्योग बन्द गराएका थिए ।
तर हाल उद्योगले कुनैपनि कानुनी स्वीकृति नलिई पुनः मर्मत तथा सम्भारको बहानामा सञ्चालनको तयारी थालेको स्थानीयको आरोप छ । अगुवा महिला तथा सामाजिक अभियन्ता महिमा सुन्दास भन्छिन्, “हामीले उद्योगको कारण गम्भीर स्वास्थ्य समस्या भोगेका छौ ं। अहिले पुनः संचालनको प्रयास हुनु हाम्रो संघर्षमाथिको अपमान हो ।”
इटहरी–१२ का वडा अध्यक्ष भुवनराज पोख्रेलका अनुसार उद्योगका प्रतिनिधिहरुले आफूलाई भेटेर जानकारी गराउने प्रयास गरेका थिए । तर उनले भने, “म कुनै हालतमा अनाधिकृत रूपमा सञ्चालन गर्न नदिने पक्षमा छु । कानुन विपरित सञ्चालन भएको उद्योग तत्काल बन्द गरिनुपर्छ । ”
स्थानियका अनुसार उद्योगका संचालकले हालसम्म उद्योग सञ्चालनको लागि आवश्यक अनुमति पत्र, वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षणको प्रमाण पेश गरेका छैनन् । इटहरी उपमहानगरपालिकाका वातावरण शाखा तथा राजस्व शाखाले पनि स्पष्ट कदम नचालेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
इटहरी उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्प नारायण चौधरीले भने उद्योगलाई आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरिएको जानकारी दिएका छन्। “हामीले उद्योगलाई वातावरणीय मापदण्ड पुरा गर्न पत्र दिएका छौं,” चौधरीले भने, “हालसम्म उनीहरुले स्पष्ट प्रमाण पेश गरेका छैनन् ।”
स्थानिय स्रोतका अनुसार उद्योगको पश्चिम भागलाई सेतो कपडाले छोपेर भित्र मर्मत तथा तयारी कार्य भइरहेको छ, जुन कार्यलाई उद्योग पुनः सञ्चालनको संकेतका रुपमा लिइएको छ ।
कानुनी प्रावधान के भन्छ ?
नेपालको वातावरण संरक्षण ऐन, २०७६ अनुसार कुनै पनि उद्योग सञ्चालन गर्नु अघि वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य छ। साथै, उद्योग संचालनका लागि उद्योग मन्त्रालय वा सम्बन्धित निकायबाट औपचारिक दर्ता र स्वीकृति प्राप्त गर्नुपर्ने प्रावधान छ। यी कानुनी प्रक्रिया बिना सञ्चालन गर्नु पूर्णतया गैरकानुनी मानिन्छ।
स्थानिय समुदायको विरोधका बाबजुद कानुनी प्रक्रिया बेगर पुनः सञ्चालन हुन लागेको अक्सफाल्ट उद्योग मानव स्वास्थ्य र वातावरणप्रति गम्भीर चुनौती बन्न सक्छ। स्थानीय सरकार, सम्बन्धित निकाय र वातावरणीय आयोगले यथाशीघ्र छानबिन गरी आवश्यक कदम चाल्न जरुरी देखिन्छ ।





