
इटहरी / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयले स्कुले वालवालिकाबीच बढ्दो रूपमा देखिएको मादक पदार्थ तथा सुर्तीजन्य वस्तु सेवनको प्रवृत्तिलाई रोकथाम गर्न एक अनुकरणीय कदम चालेको छ । विद्यालयले विद्यार्थीहरूलाई दुव्र्यसनबाट जोगाउन स्थानीय समुदाय, जनप्रतिनिधि, संघसंस्था र व्यवसायिकहरूसँग सहकार्य गर्दै प्रभावकारी अभियान थालेको छ ।
विद्यालयका शिक्षकहरूले बारम्बार चेतावनी दिए तापनि केही विद्यार्थीहरूमा चुरोट, गुटखा, रक्सी जस्ता पदार्थको प्रयोग भइरहेको देखिएको थियो । विद्यालय व्यवस्थापन समिति, स्थानीय वडाध्यक्षलगायत जनप्रतिनिधि, अभिभावक र सरोकारवालासँगको छलफलपछि समस्या नियन्त्रणका लागि साझा पहल गरिने निर्णयमा पुगिएको हो ।

सोहि अन्तरगत इटहरी–१२ खनारमा रहेको विद्यालय वरपरका पसलहरूमा विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा गरिएको अनुगमनपछि त्यहाँका किराना पसल, होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूसँग लिखित प्रतिबद्धता गराइएको छ । प्रतिबद्धताअनुसार अब ती व्यवसायहरूले विद्यालय पोशाकमा रहेका विद्यार्थीहरूलाई कुनै पनि प्रकारका सुर्तीजन्य तथा मादक पदार्थ बिक्री वितरण पाइने छैन् ।
इटहरी १२ का वडा अध्यक्ष भुवनराज पोख्रेलका अनुसार, “यो अभियान न केवल एक विद्यालयमा सिमित रहनेछ, यसलाई यस क्षेत्रका अन्य निजी विद्यालयहरूमा पनि विस्तार गरिनेछ ।” पोख्रेलले विद्यालयलाई सुरक्षित र स्वस्थ बनाउने यो कदममा स्थानीय सरकार सधैं साथ रहने स्पष्ट पारे ।
विद्यालयका प्रधानाध्यापक पिताम्बर सिंह राईले यस कदमले विद्यार्थीहरूमा देखिएको दुव्र्यसन प्रवृत्ति रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। “हामीले बालबालिकालाई स्वस्थ वातावरणमा शिक्षित बनाउन समुदायको सहयोग मागेका छौ ं। सबैले यो अभियानलाई समर्थन गरे दुव्र्यसनमुक्त विद्यालय सम्भव छ,” राईले भने।
२०८२ साल जेठ ३१ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा निर्णय भएको यो अभियानको कार्यान्वयन क्रमशः अगाडि बढाइएको छ । अब विद्यालय वरपर रहेका कुनै पनि पसलहरूले विद्यार्थीलाई चुरोट, बिडी, खैनी, गुटखा, जाँड, रक्सी, बियर, व्हिस्की जस्ता वस्तु बिक्री गरेमा विद्यालय प्रशासनले कडा कारबाहीको चेतावनी समेत दिएको छ ।

विद्यालयले स्थानीय व्यवसायी, अभिभावक र समुदायका सबै सदस्यहरूलाई अपिल गर्दै विद्यार्थीहरूलाई नकारात्मक प्रभावबाट जोगाउन सामूहिक सहयोगको आवश्यकता औँल्याएको छ । विद्यालय प्रशासनले यदि कोही व्यवसायीले नियमको उल्लंघन गरेमा सम्बन्धित निकायमा लिखित उजुरी दिने जनाएको छ ।
श्री शारदा माध्यमिक विद्यालयले चालेको यो सामाजिक जागरण अभियानले विद्यार्थीहरूलाई दुव्र्यसनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । समुदायको साथ र सरकारी प्रतिबद्धता रहेको यो अभियानले अन्य विद्यालय र स्थानहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ ।





