
धरान, धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट सशस्त्र प्रहरीले ठुलो मात्रामा गाँजा बरामद गरेको छ। अदुवा र बन्दाकोपी ढुवानीको नाममा प्रयोग गरिएको मालबाहक ट्रकबाट दुई हजार किलोभन्दा बढी गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नम्बर ४ गण, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार कोशी लोकमार्गस्थित शिवधार चेकपोष्टमा नियमित जाँचका क्रममा उक्त ट्रक नियन्त्रणमा लिइएको हो। धनकुटाबाट धरानतर्फ आइरहेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको मालबाहक ट्रक चेक गर्दा गाँजा फेला परेको थापाले जानकारी दिए।
सशस्त्र प्रहरी उपरीक्षक सञ्जीव पौडेलको नेतृत्वमा खटिएको टोलीले ट्रकभित्र लुकाइछिपाई राखिएको ७० बोरा गाँजा फेला पारेको थियो। ती बोरा गरी कुल २ हजार १३० केजी गाँजा बरामद गरिएको छ। साथमा, ३१ बोरा अदुवा र ६ बोरा बन्दाकोपी पनि फेला परेको प्रहरीले जनाएको छ।
तस्करहरूले कृषिजन्य सामग्री ओसार्ने बहानामा अवैध गाँजा तस्करी गर्ने प्रयास गरेका थिए। तर सुराकीका आधारमा सक्रिय सशस्त्र टोलीले उक्त सवारीसाधन चेकजाँच गर्दा अवैध पदार्थ फेला परेको हो।
गाँजा तस्करीमा संलग्न ट्रक चालक भने घटनास्थलबाट फरार भएका छन्। उनको खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ। ट्रकको कागजपत्र र नम्बर प्लेटका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
बरामद गरिएका लागुऔषधसहितको ट्रकलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।
प्रहरीले पछिल्लो समय पूर्वी तराईका मुख्य सडक मार्गहरूमा लागुऔषध ओसारपसार विरुद्ध निगरानी र चेकजाँच कडा बनाएको छ। यस घटनाले लागुऔषध तस्करीमा प्रयोग भइरहेका वैध सवारीसाधनहरूमाथि थप सतर्कता आवश्यक रहेको देखाएको छ।





