
विराटनगर, इलाम र मोरङ जिल्लाका फरक–फरक स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
असार १ गते साँझ इलाम नगरपालिका–११ स्थित बिर्तामोडदेखि मंगलबारेतर्फ किराना सामान लिएर गइरहेको पिकअप गाडी (प्र.१-०१-००१ प ९७७८) अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा गम्भीर दुर्घटना भएको हो।
उक्त गाडीमा सवार झापा खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका–९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय विष्णु पराजुलीको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इलामले जनाएको छ।
दुर्घटनामा पराजुलीकी आठ वर्षीय छोरी प्रेयन्सा पराजुली र गाडी चालक देउमाई–९ जितपुर निवासी २२ वर्षीय आइत बहादुर लिम्बु घाइते भएका छन्। उनीहरुको बिर्तामोडस्थित बीएनसी अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी, सोही दिन राति मोरङको ग्रामथान गाउँपालिका–५ तेतरिया स्थित घिनाघाट सडकखण्डमा मोटरसाइकल (को.३३ प ६८१६) दुर्घटना हुँदा पछाडि सवार ग्रामथान–४ का २२ वर्षीय सुरज सरदारको निधन भएको छ। उनको विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकल अनियन्त्रित भई आफैँ सडकबाट चिप्लिएको जनाइएको छ। दुर्घटनामा सोही स्थानका २० वर्षीय चालक दिवेश सरदार र १९ वर्षीय राजु उरावँ घाइते छन्। उनीहरुको समेत विराट नर्सिङ होममा उपचार भइरहेको छ।प्रहरीले दुबै घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।





