इटहरी इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा लामो समयदेखि कार्यरत एक प्रहरी हबल्दारमाथि आर्थिक चलखेलको आरोप लागेपछि उनलाई ‘सुटुक्क’ दरबन्दीको ठाउँमा फिर्ता गरिएको छ।

चार वर्षभन्दा बढी समयदेखि इटहरीको मुद्दा शाखामा कार्यरत प्रहरी हबल्दार नुमहरि वाग्लेलाई आर्थिक अनियमितताको गम्भीर आरोप लागेपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पत्रमार्फत मोरङको बेलबारी प्रहरी कार्यालयमा सरुवा गरिएको हो। वाग्ले सञ्चार दरबन्दीका रूपमा बेलबारीमा नियुक्त भए पनि सशक्त पहुँच र आन्तरिक शक्ति प्रयोग गरी उनी इटहरीमै रहँदै आएका थिए।

सेवाग्राहीसँग रकम असुलीको आरोप

प्रहरी स्रोतका अनुसार वाग्लेले मुद्दा मिलाउने, फाइल अगाडि बढाउने जस्ता बहानामा सेवाग्राहीसँग पटक–पटक रकम माग्दै आएको पुष्टि हुने प्रमाणसमेत फेला परेको छ। धेरै सेवाग्राहीले इटहरी इप्रका प्रमुख समक्ष गुनासो गरे पनि उनी बारम्बार जोगिँदै आएका थिए।

यो पटक भने गुनासो प्रदेश प्रहरी कार्यालयसम्म पुगेपछि तत्काल दरबन्दी अनुसार सरुवा गरिएको हो। यद्यपि, उनीमाथि छानबिन प्रक्रिया अगाडि नबढाइएको प्रहरी वृत्तमै चर्चा भइरहेको छ।

इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले वाग्लेलाई दरबन्दीको स्थानमा पठाइएको पुष्टि गरे पनि सरुवाको कारण खुलाउन चाहेनन्।

काजको चलन र प्रश्न

यो घटना प्रहरीले ‘काज’ मा बस्ने पुरानै परिपाटीप्रति पनि प्रश्न उठाउँछ। वाग्ले मात्र होइन, इटहरी लगायतका धेरै प्रहरी कार्यालयमा काजको नाममा दरबन्दी बाहिर लामो समयसम्म बस्ने प्रहरीहरूको संख्या उल्लेख्य छ। यसले प्रहरी संगठनभित्र पहुँच, राजनीतिक संरक्षण र गैरपारदर्शी अभ्यासको संकेत दिन्छ।

वाग्लेमाथिको गम्भीर आरोपका बाबजुद छानबिन प्रक्रिया अगाडि नबढाइ, केवल दरबन्दीमा फर्काउने निर्णयले प्रहरी प्रशासनको नैतिकता, जवाफदेहिता र पारदर्शिताप्रति प्रश्न उठाएको छ। यदि आरोप पुष्टि हुने खालका प्रमाण फेला परेका हुन् भने, अनुसन्धान र कारबाही प्रक्रिया निष्पक्ष र सार्वजनिक हुन आवश्यक देखिन्छ।

 

तपाईको प्रतिक्रिया