सुनसरी ! इटहरी इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा आर्थिक चलखेल गरेको गम्भीर आरोप लागेका प्रहरी हबल्दार नुमहरि वाग्लेलाई अन्ततः आफ्नो दरबन्दीस्थल बेलबारी, मोरङ फिर्ता पठाइएको छ।

चार वर्षभन्दा बढी समयदेखि इटहरीको मुद्दा शाखामा कार्यरत रहेका वाग्ले विभिन्न मुद्दा मिलाउने नाममा सेवाग्राहीसँग आर्थिक लेनदेन गरेको आरोप लाग्दै आएको थियो। उनी सञ्चार दरबन्दी भए पनि “पावर र पहुँच” को भरमा मुद्दा शाखामा लामो समयसम्म कार्यरत रहेको प्रहरी स्रोतले जनाएको छ।

वाग्लेविरुद्ध पटक–पटक गुनासा आइरहँदा पनि कुनै ठोस कारबाही नभएको आलोचना हुँदै आएको थियो। तर, यसपटक कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट आएको पत्र आदेशपछि उनलाई बेलबारी इलाका प्रहरी कार्यालयमा फिर्ता पठाइएको हो।

 प्रमाणसहित गुनासो, तर औपचारिक छानबिन छैन

प्रहरी स्रोतका अनुसार, पछिल्लो समय वाग्लेले सेवाग्राहीसँग रकम मागेको ठोस प्रमाण फेला परेको थियो। यद्यपि, उनीविरुद्ध औपचारिक छानबिन प्रक्रिया भने नथालिएको देखिन्छ। उनलाई सिर्फ स्थानान्तरण गरिएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले वाग्लेलाई आफ्नो दरबन्दीमा फिर्ता पठाएको पुष्टि गरे पनि कारणबारे भने बोल्न चाहेनन्।

 मुद्दा शाखामा मात्रै होइन, काजमा बस्ने पुरानै प्रवृत्ति

वाग्लेलाई हटाइएको घटनाले प्रहरी भित्रको ‘काज प्रणाली’ (काजमा बसेर शक्तिशाली ठाउँ ओगट्ने चलन) पुनः चर्चामा ल्याएको छ। इटहरी मात्रै नभई, देशभरका धेरै प्रहरी कार्यालयमा गैर-दरबन्दीका कर्मचारीहरू काजमा बसेर प्रभावशाली पदमा कार्यरत रहेको देखिन्छ।

तपाईको प्रतिक्रिया