
सुनसरी — धरानका दुई किशोरलाई भारतको जोगवनी पुर्याई मोबाइल लुटपाट गरी अभिभावकसँग फिरौती माग्ने घटनामा संलग्न दुई नेपाली युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। एक भारतीय नागरिक भने फरार छन्।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१६ निवासी १९ वर्षीय प्रलवकुमार विक र दीपक अधिकारी रहेका छन्। घटनामा संलग्न भारत बिहार राज्यको २२ वर्षीय गोलु सिंह फरार रहेका छन् भने उनको खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापु निवासी १७ वर्षीय प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ तरहरा निवासी आशिष गुरुङ विराटनगरको ट्राफिक चोक नजिकै रहेको टोम एण्ड जेरी होटलमा काम गर्दै आएका थिए। उनीहरूलाई केही दिनअघि आफैंलाई साथी भनिरहेका युवाहरूले भारतको जोगवनी पुर्याएका थिए।
जोगवनी पुगेर प्रज्ञानको मोबाइल लुटिएको थियो। लुटपाटपछि उनीहरूलाई आक्रमण गर्न खोजिएपछि दुबै किशोर ज्यान जोगाएर नेपालतिर फर्किएका थिए। प्रारम्भिक अनुसन्धानमा लुटिएको सोही मोबाइलबाट प्रज्ञानका अभिभावकलाई फोन गरी ३० हजार रुपैयाँ फिरौती मागिएको खुलेको छ।
‘छोरा चाहिन्छ भने ३० हजार रुपैयाँ लिएर विराटनगरको बिग होटल छेउमा आउनु’ भन्ने धम्कीपूर्ण फोन पाएपछि प्रज्ञानका बुबा खेमप्रताप राईले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए। सूचना पाएलगत्तै धरानबाट निरीक्षक जीवन कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोली मोरङ प्रहरीसँग समन्वय गरी विराटनगर आइपुगेको थियो।
प्रहरी टोलीले विराटनगर बसपार्कबाट प्रलव र दीपकलाई नियन्त्रणमा लिएको हो। उनीहरूले सो घटनामा भारतीय नागरिक गोलु सिंहको संलग्नता रहेको बयान दिएका छन्।
घटनामा संलग्न भनिएका किशोरहरू प्रज्ञान र आशिष, साथै विराटनगर–१५ निवासी २० वर्षीया विजेता तामाङलाई समेत इटहरी–१९ तरहराबाट सकुशल उद्धार गरिएको छ। उनीहरूलाई मंगलबार साँझ अभिभावकको जिम्मा दिइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पीडित र पीडकबीच पहिल्यैबाट चिनजान रहेको र मिलेमतोमा भारत गएका तर त्यहाँ पुगेर लुटपाट र आक्रमण प्रयास भएको देखिएको डीएसपी प्रकाश जबेगूले जानकारी दिए।
हाल पक्राउ परेका अभियुक्तहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ। रानीका इन्स्पेक्टर कविन राई नेतृत्वमा घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





