
धरान, सुनसरीको धरान उप-महानगरपालिका वडा नम्बर १६ स्थित जोरसखुवा भुमीपथबाट लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले ३४ वर्षीय रोहित विष्टलाई पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिने क्रममा उनले ‘THC GATSBY’ लेखिएको प्लास्टिकको बट्टा फालेर भाग्न खोजेका थिए। प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिई उक्त बट्टा खोलेर जाँच गर्दा साना पोका (बुलेट जस्तै आकारका १८ वटा) मा प्याक गरिएको लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो।
प्रहरीका अनुसार बरामद गरिएको ब्राउन सुगरको तौल १.०२ ग्राम (१ ग्राम २० मिलिग्राम) रहेको छ। विष्टलाई उक्त लागू औषधसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूविरुद्ध निगरानी र कारवाही अभियानलाई अझ कडा बनाएको बताएको छ।





