इटहरी /संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार ४७ सहसचिवहरूको सरुवा सूची सार्वजनिक गरेको थियो। सोही निर्णयअनुसार सहसचिव रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको थियो।
तर, सरुवा भएको आज ४९ दिन पुगिसक्दा पनि मेहता विराटनगर पुगेका छैनन्। कारण? विराटनगर महानगर प्रमुख नागेश कोइरालाको स्पष्ट अस्वीकार।
मेयरको आग्रह : ‘नआउनू होला’
मेहता स्वयंले जानकारी दिएअनुसार, सरुवा भएको भोलिपल्ट वैशाख १० गते नै मेयर कोइरालाको सचिवालयबाट फोन आएको थियो।
“फोनमा भनियो– ‘मेयर साबले तपाईंलाई हाजिर नगराउने भन्नुभएको छ, त्यसैले नआउनू होला’,” मेहताले भने।
त्यसपछि स्थिति प्रष्ट पार्न उनले मेयर कोइरालालाई सिधा सम्पर्क गरेका थिए।
“मैले उहाँलाई फोन गरेर सोधेँ। उहाँले विभिन्न कारण दिँदै भन्नुभयो– ‘म तपाईंलाई हाजिर गराउन सक्दिनँ’। त्यसपछि मेरो मर्यादाले पनि जान दिएन,” मेहताको भनाइ थियो।
‘संघीयता मिचिएको छ’ : मेयर कोइरालाको अडान
मेयर नागेश कोइरालाले संघीय सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै बताएका छन्,
“संघीयता भनेको समन्वय र सहकार्य हो। स्थानीय तहसँग कुनै परामर्श नै नगरी कर्मचारी खटाउनु संघीयताको मर्म विपरीत हो।”
उनको भनाइमा, महानगरले पहिले नै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने छैनौं भन्ने निर्णय गरिसकेको थियो, र त्यसअनुसार सहसचिव मेहतालाई रोकिनु परेको हो।
मन्त्रालयको मौनता र मेहताको पर्खाइ
रामचरित्र मेहता हाल युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन्।
उनले आफू मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूसँग कुरा गरिसकेको पनि जानकारी दिए।
“मैले मन्त्रीज्यू र सचिवज्यूलाई सबै कुरा बताएँ। उहाँहरूले अहिले यतै काम गरिरहनुस् भनेपछि म यही बसेको छु,” उनले भने।
तर उनले संकेत गरे, “विराटनगर महानगर त कसैको नाममा रजिष्ट्रेसन पास भएको छैन होला। हेर्दै जाउँ, अब के हुन्छ।”
अस्थायी व्यवस्थापन
महानगरमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको अवकाशपछि हाल उपसचिव रामप्रसाद ढुंगेल कार्यबाहक प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्।
यस घटनाले संघीयता, सेवा प्रवाह, र तीन तहबीचको समन्वयको विषयमा पुनर्विचार आवश्यक रहेको देखिएको छ।