सुनसरी / जेठ १६ – नेपालमा यस वर्ष मनसुन सामान्य समयभन्दा १५ दिन अघि, जेठ १५ गते, कोशी प्रदेश हुँदै प्रवेश गरेको थियो। तर बलियो न्यून चापीय क्षेत्र पूर्वी एसियातर्फ, विशेषगरी फिलिपिन्स क्षेत्रमा बनेपछि मनसुनी प्रणाली सोहोरिएर पूर्वतर्फ फर्किएको छ। यस कारण मनसुन नेपालमा स्थायीरूपमा फैलिन नसकेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झा भन्छन्, ूमनसुन पूर्वी एसियातर्फ तानिएकोले कोशी प्रदेशबाट अन्यत्र फैलिन सकेन। अहिलेको अवस्थाले आगामी केही दिन नेपालमा पूर्णरूपमा मनसुन फैलिने सम्भावना देखिँदैन।
प्रारम्भिक वर्षा र बाढी
मनसुन भित्रिएको केही दिनमै, जेठ १७ गते, पूर्वी नेपालमा भारी वर्षा भई बाढी आएको थियो।
धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी क्षेत्रमा लेउती खोलाको बाढीले करिब १०० मिटर सडक बगाएको छ।
झापामा माइ खोलाको बाढीले २२ घर डुबानमा परेका थिए।
तर त्यसपछि अहिलेसम्म उल्लेखनीय वर्षा भएको छैन।
स्थानीय र पश्चिमी वायुले रोक्यो मनसुन
मौसमविद् झाका अनुसार पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले मनसुनी वायु प्रवेशमा अवरोध भइरहेको छ। नेपालमा सामान्यतया बङ्गालको खाडीबाट जलवाष्प बोकेर मनसुनी वायु आउँछ, तर हाल त्यो प्रणाली कमजोर भएकाले तापक्रम उच्च भइरहेको छ।
उनले भने, ूमनसुन ‘ब्रेक’ मा जानु राम्रो संकेत होइन। यसले कतै अत्यधिक वर्षा र कतै खडेरीको स्थिति ल्याउन सक्छ।ू
भोलिदेखि बदली सुरु, वर्षाको सम्भावना
हाल बङ्गालको खाडीमा फेरि अर्को न्यून चापीय प्रणाली सक्रिय हुँदैछ। साथै भारतको मध्य भूभागमा पनि न्यून चापीय क्षेत्र बन्न थालेको छ, जसको असर नेपालमा देखिन सक्छ। मौसमविद्हरूका अनुसार भोलिदेखि देशका केही भागमा बदली सुरु भई वर्षा हुने सम्भावना छ।
विपद् जोखिम र तयारी
यसवर्ष जल तथा मौसम विज्ञान विभागले सामान्यभन्दा बढी वर्षा र उच्च गर्मी हुने पूर्वानुमान गरिसकेको छ। सोही अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण ले विपद् प्रतिकार्य योजना लागू गरिसकेको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसी का अनुसार, यस वर्ष २० लाख मानिस प्रभावित हुने अनुमान छ। तीमध्ये करिब १० प्रतिशतलाई राहत र उद्धारको आवश्यकता पर्न सक्ने देखिएकाले तयारी भइरहेको उनले बताए।