सुनसरी, कोशी प्रदेशको कोशी गाउँपालिका अन्तर्गत मधेसी समुदायको सशक्तिकरणका लागि ‘नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता आयोजकले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पालिकाअध्यक्ष श्री अयुब अन्सारीज्यूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी श्री विश्वराज नेपाल र कोशीटापु वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत श्री भूपेन्द्र यादवज्यूको सहभागिता थियो। प्रशिक्षकहरूले मधेसी समुदायका युवाहरूलाई नैतिकता, आत्मबल, र सामाजिक उत्तरदायित्वको महत्त्वका विषयमा अभिमुखीकरण प्रदान गर्नुभयो।

यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई नैतिक शिक्षा र आत्मनिर्भरता सम्बन्धी महत्वपूर्ण ज्ञान प्रदान गरिनुका साथै लोकसेवा तयारी कक्षा, रोजगारमुखी तालिम र शिक्षा सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पालिका अध्यक्ष अयुब अन्सारीले जनाउनुभएको छ। उहाँले आगामी प्रत्येक आर्थिक वर्षमा यस्ता कार्यक्रमका लागि छुट्टै बजेट व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो।

आयोजकले विगत दुई दशकदेखि मधेसी समुदायको सशक्तिकरणमा सक्रिय रहँदै आएको र यस कार्यक्रमले आफ्नो लामो संघर्षलाई सार्थक बनाएको उल्लेख गर्दै यो कार्यक्रम आयोजना गर्न पाउँदा गर्व र सन्तोष व्यक्त गर्नुभयो।

कार्यक्रमले विशेष गरी बेरोजगार युवा तथा महिलालाई प्रेरित गर्दै उच्च शिक्षा हासिल गरी आत्मनिर्भर बन्ने दिशामा नयाँ आशा जागाएको विश्वास गरिएको छ  ।                                                             

तपाईको प्रतिक्रिया