सुनसरी, सुनसरीको तरहरा–धरान खण्डमा निर्माणाधीन ६ लेन सडकको काम ठप्प भएपछि जिल्ला प्रशासन कार्यालय, सुनसरीले निर्माण कम्पनीलाई सात दिनभित्र काम सुरु गर्न निर्देशन दिएको छ।
करीब ५.३ किलोमिटर लामो उक्त सडक खण्डको करिब ३० प्रतिशत काम अझै अधुरो छ। निर्माण कम्पनी ‘हिम्डुङ प्यासिफिक जेभी’ सम्पर्कविहीन भएपछि कार्य पूर्णरूपमा ठप्प भएको हो। समाचारमाध्यममा विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आयोजनाका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद शाहलाई बोलाएर स्पष्ट निर्देश दिएका छन्।
प्रजिअ मिश्रले निर्माण कम्पनीलाई सात दिनभित्र काम सुरु नगरे कानुनी कारबाही हुने चेतावनी दिएका छन्। सोही क्रममा कम्पनीका प्रतिनिधि प्रेमकुमार मल्ललाई लिखित अल्टिमेटम पठाइएको छ।
दुवैपटकको म्याद गुज्रियो, काम अझै अधुरो
२०७९ सालमा ४३ करोड ४६ लाख रुपैयाँ लागतमा सुरु गरिएको आयोजनाको काम २०८० असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, म्यादभित्र काम नसकिएपछि २०८१ असोज ३० सम्म म्याद थपिएको थियो। यद्यपि, त्यसअघि नै ठेकेदार सम्पर्कविहीन बनेपछि सडक विभिन्न ठाउँमा बिग्रिन थालेको छ।
हालसम्म कालोपत्रे (बेरिङ कोर्स), आन्तरिक भराइ, डेलिनेटर जडानलगायतका महत्त्वपूर्ण काम अधुरै छन्। कतिपय स्थानमा कालोपत्रे उप्किएको छ भने कतै काम नै सुरु भएको छैन, जसका कारण सडक खाल्डाखुल्डीयुक्त भई सवारी आवागमनमा सास्ती थपिएको छ।
अन्य योजना पनि अनुगमनमा
प्रजिअ मिश्रले जिल्लाभर सञ्चालनमा रहेका अन्य अधुरा योजनाहरू पनि समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्। योजनाको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले सम्बन्धित निकायका प्रमुखहरूलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरेका छन्।
धरान–रानी–विराटनगर तीनकुनेसम्मको कुल ४४.२७ किलोमिटर लम्बाइको ६ लेन सडक आयोजनाअन्तर्गत १६ ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो। तर, हालसम्म जम्मा ३२.८४ किलोमिटर मात्रै सडक निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ।