इनरुवा, सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीमाथि ड्युटीमा खटिएका प्रहरीमाथि सार्वजनिकरूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको घटनामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीले कानूनी कारबाहीको प्रक्रिया अघि बढाएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाले घटनाको गम्भीरताका कारण स्थलगत अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने काम भईरहेको जानकारी दिएका छन्। उक्त प्रतिवेदन नेपाल प्रहरी प्रधान कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयमा पठाइने र त्यहीअनुसार कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले पनि घटनाको प्रारम्भिक विवरण गृहमन्त्रालयमा पठाइएको र त्यसअनुसार कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन्।
मिलाउन खोज्ने नेताहरूमाथि प्रशासनको कडा जवाफ
घटना मिलाउन दबाव दिइरहेका प्रदेश सांसद इस्राइल मन्सुरी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी र जिसस प्रमुख राजन मेहतालाई एसपी र सीडीओले स्पष्ट शब्दमा भनेका छन्— “दबाव दिन आउनुहैन, घटना सार्वजनिक बहसमा भइसकेको छ, छानबिन भएर कानुनी प्रक्रिया अघि बढ्छ। सरुवा गर्न सक्नुहुन्छ भने गरिदिनुस्।”
घटनाको पृष्ठभूमि
शुक्रवार कोशी कटानस्थित अस्थायी प्रहरी चौकीमा ड्युटीमा रहेका जनपथ तथा ट्राफिक प्रहरीमाथि अध्यक्ष अन्सारीले अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएका थिए। घटनाको सुरुआत ओभरलोड बाँस बोकेको ट्र्याक्टर (को १ त ४९४३) लाई ट्राफिक प्रहरीले जरिवाना गर्न खोज्दा अन्सारी आक्रोशित बनेपछि भएको हो। ट्राफिक प्रहरीको फोन नउठाएपछि उनी आफ्ना समर्थकसहित चेकपोष्टमै पुगेका थिए।
भिडिओमा देखिएको दुर्व्यवहार
घटनास्थलको भिडियोमा अध्यक्ष अन्सारीले प्रहरीहरूमाथि अभद्र तथा अपशब्द प्रयोग गर्दै “यहाँ मेरो राज चल्छ, प्रहरीको होइन”, “पैसा उठाउने, घुस माग्ने प्रहरीलाई म हटाउँछु” भन्नेजस्ता धम्कीपूर्ण शब्द प्रयोग गरेका देखिन्छन्। उनले प्रहरी ब्यारिगेड तोड्न र चेकपोष्ट हटाउन समेत आदेश दिएका थिए।
उनको निर्देशनमा समर्थकहरूद्वारा ब्यारिगेड हटाइएपछि, अध्यक्ष स्वयं प्रहरी पोष्टमा पुगेर हातपातको प्रयास गरेका थिए। घटनामा संलग्न प्रहरी सहायक निरीक्षक सन्तोष मिश्र, ट्राफिक नायब निरीक्षक कमल दाहाल लगायत अन्य कर्मचारीप्रति अश्लील गालीगलौज गरिएको बताइएको छ। प्रहरी र प्रशासन दुबै निकायले अध्यक्ष अन्सारीको अभिव्यक्ति र क्रियाकलाप कानुनविपरीत रहेको भन्दै कारबाही गर्न आवश्यक तयारी गरिरहेका छन्। राजनीतिक दबाबको बाबजुद प्रशासन र प्रहरीले निष्पक्ष रूपमा कानुनी प्रक्रिया अघि बढाउने अडान लिएको देखिन्छ।