इटहरी – इटहरीको चर्चित होटल ‘सोल्टी वेस्टेन्ड’ को स्वामित्वमा रहेको होटेल गरिमा लिमिटेडले पहिलो पटक प्राथमिक सार्वजनिक निष्कासन (IPO) मार्फत नेपाली पुँजी बजारमा प्रवेश गर्ने तयारी थालेको छ।

शुक्रवार (जेठ २३) मा होटेल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटल लिमिटेडबीच ‘रोडम्याप टु आइपिओ’ विषयक रणनीतिक सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार एनआईएमबी एस क्यापिटलले होटेल गरिमालाई आइपिओ प्रक्रिया सम्बन्धी परामर्श, नियामक निकायहरूसँग समन्वय, तथा संस्थागत व्यवस्थापनका क्षेत्रमा सहयोग प्रदान गर्नेछ।

सम्झौतापत्रमा होटेल गरिमा लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका उप-प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

प्रबन्ध निर्देशक पौडेलका अनुसार, “पुँजी बजारमा गरिमाको प्रवेशले कम्पनीको दिगो विकासमा कोसेढुंगा सावित हुनेछ। पारदर्शिता र व्यावसायिक उत्कृष्टता कायम गर्दै आतिथ्य सत्कार क्षेत्रमा नयाँ उचाइ हासिल गर्नेछौं।”

एनआईएमबीका ढुङ्गानाले होटेल गरिमालाई आवश्यक सम्पूर्ण परामर्श र सहयोग प्रदान गरिने उल्लेख गर्दै, “यस साझेदारीले कम्पनीको संस्थागत दक्षता र लगानीकर्ताको विश्वास दुवैमा वृद्धिको सम्भावना ल्याउनेछ,” भने।

आगामी दिनमा गरिमाको आइपिओ जारी भएपछि आम लगानीकर्तालाई आतिथ्य क्षेत्रमा लगानीको आकर्षक अवसर प्रदान हुने विश्लेषकहरू बताउँछन्।

तपाईको प्रतिक्रिया