सप्तकोशी नदीमा पाइने दुर्लभ गंगेटिक प्रजातिको डल्फिनको वार्षिक गणना सम्पन्न भएको छ । चार दिनसम्म गरिएको गणनाले नदीमा डल्फिनको संख्या वृद्धि भएको पुष्टि गरेको छ, जसले संरक्षणकर्मीहरूलाई उत्साहित बनाएको छ । डल्फिनको संख्या अघिल्लो वर्षको १९ बाट बढेर यस वर्ष २२ पुगेको छ ।
यस वर्ष उच्च पानीको वहावका कारण सप्तकोशी ब्यारेजको दक्षिणतर्फ मात्र गणना गरिएको थियो, भने उत्तरतर्फ पनि डल्फिनको उपस्थिति रहेको अनुमान गरिएको छ ।
डल्फिन वृद्धि स्वच्छ नदीको संकेत
विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र प्रसाद यादवले डल्फिनको संख्यामा आएको वृद्धिलाई नदीको स्वच्छता र संरक्षणकर्मीहरूको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो । उहाँले नदीमा फालिने प्लास्टिकजन्य फोहोर र विषादीजन्य प्रदूषणलाई डल्फिन संरक्षणको मुख्य चुनौतीका रूपमा रहेको बताउनु भयो ।
गणना सन् २०२२ देखि नियमित रूपमा हुँदै आएको छ । यस वर्ष पनि कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा, राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय, काठमाडौँस्थित हिमालयन नेचर, केभीआर, र द रुफोर्ड फाउन्डेशनको प्राविधिक सहकार्यमा सम्पन्न भएको हो ।
डल्फिनको गणना दुई विधिबाट गरिएको थियो—चारैतिरबाट खेराले घेराबन्दी गर्ने तरिका र डुंगा प्रयोग गरेर अवलोकन गर्ने तरिका । २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन भेटिएपछि डल्फिन संरक्षणलाई प्राथमिकता दिइएको हो। २०२२ मा १७, र २०२३ तथा २०२४ मा १९ वटा डल्फिन गणना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक विरेन्द्र गौतमले बताउनु भयो । ।
धार्मिक आस्था र डल्फिन संरक्षण
डल्फिन केवल जल पारिस्थितिकी तन्त्रको संवेदनशील सूचक मात्र होइन, स्थानीय माझी समुदायको धार्मिक आस्थासँग पनि गहिरो रूपमा गाँसिएको प्राणी हो। माझी मल्हा संजालका अध्यक्ष गुलाबी मुखियाका अनुसार माझी समुदायले डल्फिनलाई कुलदेवताका रूपमा पूज्ने परम्परा लामो समयदेखि जोगाइराखेको छ। कात्तिक–मंसिरमा गरिने नदी पूजा तथा डल्फिन पूजाले समुदायमा संरक्षणप्रतिको चेतना झनै बलियो बनाएको छ।
तर, अवैध सिकारले डल्फिन मात्र होइन, समुदायको धार्मिक विश्वासमा पनि चोट पु¥याएको अध्यक्ष मुखियाले गुनासो गर्नुभयो।
गंगेटिक डल्फिन संकटमा
नेपाल, भारत र बङ्गलादेशमा मात्र पाइने गंगेटिक डल्फिनको संख्या पछिल्ला दशकहरूमा झन्डै ५० प्रतिशतले घटेको छ। हाल यसको विश्वव्यापी संख्या करिब ३,००० को हाराहारीमा रहेको अनुमान छ।
नेपालमा सन् २०११ को एक अध्ययनले करिब १०० डल्फिन रहेको अनुमान गरेको थियो भने, सन् २०१८ को राष्ट्रिय गणनामा जम्मा ५२ वटा मात्र भेटिएका थिए—तीमध्ये ४३ कर्णाली मोहना क्षेत्रमा र ९ वटा कोशीमा ।
डल्फिन मुख्य रूपमा कोशी, कर्णाली र नारायणी नदी प्रणालीमा पाइन्छन् । महाकालीमा कहिलेकाहीँ देखिए तापनि हाल त्यहाँबाट डल्फिन लोप भएको छ ।
संरक्षणमा चुनौती
नेपाल–भारत सिमानामा निर्माण भएका बाँध र ब्यारेज, जल स्रोतको अत्यधिक दोहन तथा नदी प्रदूषण डल्फिनको संरक्षणमा प्रमुख चुनौती बनेका छन्। ब्यारेज खुलेका बेला नेपालबाट भारततर्फ गएका डल्फिनहरू पुनः फर्किन नसक्ने समस्या रहेको संरक्षणकर्मीहरू बताउँछन्।
डल्फिन पानीको स्वच्छता संकेत गर्ने प्राणी हो। यसको आहार स–साना माछा हुने र प्रजनन काल फागुनदेखि वैशाखसम्म हुने गर्दछ। डल्फिनले करिब ८–९ महिनाको गर्भधारणपछि बच्चा जन्माउँछ, जसले करिब दुई महिनामा आहार लिन थाल्छ।
डल्फिनको संख्या वृद्धिले संरक्षण प्रयासले प्रभावकारी परिणाम दिइरहेको स्पष्ट देखिन्छ। संरक्षणमा जनसहभागिता, धार्मिक आस्था र वैज्ञानिक विधिको समिश्रणले भविष्यमा डल्फिनको संरक्षण अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
त्यति मात्र हैन पुर्वी नेपालमा डल्फिनको सख्यावृदिले यस क्षेत्रको नयाँ पर्यटकिय सम्भावनाको समेत विकास गरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षले विश्व वातावरण दिवसको अवसर पारेर गरेको डल्फिन गणना सार्वजिनिकिकरणले थप हौसला मिलेको यस क्षेत्रका चरा संरक्षण कर्मि रविन्द्र घिमिेरेले बताउनु भयो । कार्याक्रममा स्थानिय जनप्रतिनिधिहरु,सरोकारवा व्यत्तिहरु तथा आरक्ष कर्मचारीहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया