सुनसरी, २० जेठ २०८२ — सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–६ स्थित दक्षिणकाली पेट्रोलपम्प नजिक गत चैत १८ गते भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
बिराटनगरबाट वीरगञ्जतर्फ गइरहेको ना ६ ख २९३१ नम्बरको यात्रुबाहक बसले इटहरीतर्फ गइरहेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी हरिनगर गाउँपालिका–३ निवासी ४६ वर्षीय महेश कुमार मेहताको घटनास्थलमै मृत्यु भएको थियो।
उक्त मोटरसाइकलमा सवार देवानगञ्ज गाउँपालिका–२ की ५७ वर्षीया गुगली मेहता गम्भीर घाइते भएकी थिइन्। उनलाई प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो। चिकित्सकको सल्लाहमा चैत २० गते घर ल्याइएकी उनको दुई महिनापछि, आइतबार राति, घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न बस र बस चालक, सिराहा लहान नगरपालिका–१५ निवासी ३४ वर्षीय सूर्य नारायण चौधरी,लाई नियन्त्रणमा लिइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।