काठमाडौं,  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको निर्णय अनुसार पाण्डेले आफ्नो जिम्मेवारीमा गम्भीर लापरवाही देखाएको आरोपमा उनलाई निलम्बन गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले एक साताको समय दिएर जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण मागेका थिए। पाण्डेले जेठ १२ गते आफ्नो जवाफ पेश गरे पनि सो स्पष्टीकरण असन्तोषजनक ठहर गर्दै उनलाई कारवाही गरिएको हो।

के कारण निलम्बन?

गत चैत २१ गते, गुरागाईँ लामो बिदापछि कार्यालय फर्किँदा पाण्डेले अवरोध गरेको आरोप लागेको थियो। गुरागाईँका अनुसार पाण्डेले महानगर प्रहरी बलको अनधिकृत रूपमा परिचालन गरी, आफूमाथि अभद्र व्यवहार र गैरकानुनी कार्य गरेका थिए।

यसका अतिरिक्त, पाण्डेले:

  • प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको सवारी साधनमा ‘ह्विल लक’ गर्न आदेश दिई कार्यालय आगमनमा बाधा पुर्‍याएको,
  • कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूको बाटो छेकी अमर्यादित व्यवहार प्रदर्शन गरेको,
  • कार्यकक्षमा तालाबन्दी गरी, पटक–पटकको अनुरोधपछि पनि ताला नखोल्ने अडान राखेको,
  • र सञ्चारमाध्यममार्फत अनधिकृत टिप्पणी तथा सार्वजनिक रूपमा अमर्यादित व्यवहार गरेको आरोप लागेको छ।

यसरी पाण्डेमाथि प्रशासनिक हैसियतको दुरुपयोग, व्यवहारिक मर्यादाको उल्लंघन, र कानुनी जिम्मेवारीप्रति लापरवाही देखिएको निष्कर्ष निकालिएको छ।

तपाईको प्रतिक्रिया