सुनसरी / नेपालभर सार्वजनिक यातायात सोमबारदेखि अनिश्चितकालीन रुपमा बन्द भएको छ। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा भएको यो आन्दोलनले यात्रु र उपभोक्ताहरूलाई ठूलो सास्ती हुने देखिन्छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले रातोपाटीलाई बताए अनुसार, गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेज गर्न सरकारलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भएपछि सवारी साधन ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो।
आन्दोलनको मागहरू:
- निजी प्रयोजनका गाडीलाई व्यावसायिक सवारी सरह चलाउन दिने नियम खारेज।
- यातायात व्यवसायी र मजदुरहरूको सुरक्षाका लागि स्पष्ट नीति र सुनुवाइ।
आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनका कारण हुने असुविधाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ। आम यात्रु, मजदुर र सरोकारवालालाई सार्वजनिक यातायात जोगाउन हाम्रो आन्दोलनमा समर्थन गर्न हार्दिक अनुरोध गर्दछौं।”
कस्तो असर पर्ला?
अनिश्चितकालीन बन्दले विद्यार्थी, कर्मचारी, मजदुर र दैनिक यात्रुहरू प्रभावित हुने निश्चित छ। काठमाडौं, पोखरा, बिराटनगरजस्ता सहरहरूमा विहानैदेखि गाडी चलेका छैनन् भने लामो दूरीका बसहरू पनि ग्यारेजमै रोकिएका छन्।