सुनसरी / आज जुन १ (जेठ १९ गते) २५औँ अन्तर्राष्ट्रिय दूध दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। सन् २००१ देखि संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO)को पहलमा प्रत्येक वर्ष यो दिवस मनाउँदै आइएको हो। दुग्ध क्षेत्रले पोषण, खाद्य सुरक्षामा पुर्‍याएको योगदान र किसानको जीविकोपार्जनमा खेलेको भूमिकाको सम्मानमा यो दिवस मनाउने गरिन्छ।

यसै अवसरमा सुनसरी जिल्लाका विभिन्न स्थानमा समेत विविध कार्यक्रम आयोजना भएका छन्। इटहरीस्थित दूध उत्पादक सहकारी संस्था लिमिटेडले आयोजना गरेको विशेष कार्यक्रमको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले प्रदेश सरकार आगामी वर्ष ४ हजार दुग्ध उत्पादनमा संलग्न किसानलाई लक्षित गरी व्याज अनुदान कार्यक्रम ल्याउने घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, “किसानले लिएको ऋणको व्याज पाँच वर्षसम्म प्रदेश सरकारले बेहोर्नेछ। कृषि क्रान्तिबाट मात्र प्रदेशको आर्थिक समृद्धि सम्भव छ, त्यसैले प्रदेश सरकार कृषि व्यवसायप्रति पूर्ण रूपले सजग छ।”

तर दिवसको उत्साहसँगै स्थानीय किसानहरूका केही गुनासा पनि सार्वजनिक u/]। सुनसरी दुग्ध उत्पादक संघका अध्यक्ष राजन धमलाले सयौँ पशुपालक किसानहरूले समयमै दूधको भुक्तानी नपाएको भन्दै सरकारको उदासीनताप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले पशुपालन र दुग्ध व्यवसायमा सरकारको थप चासो र सहयोगको माग गर्नुभयो।

दूध दिवस मनाउने मूल उद्देश्यहरूमा—दैनिक गुणस्तरीय दूध सेवनको जनचेतना अभिवृद्धि, पोषणयुक्त दुग्ध पदार्थको प्रयोग बढाउने, दुग्ध पदार्थको गुणस्तर सुधार गर्ने, तथा सबै वर्गसम्म दूधको पहुँच सुनिश्चित गर्ने प्रयास—मुख्य हुन्।

FAO का अनुसार, दूध विश्वभरका करिब एक अर्ब मानिसको आहारको मुख्य अङ्ग हो। नेपालमै पनि दुग्ध क्षेत्रले कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। तथ्याङ्क अनुसार, नेपालमा वार्षिक करिब २ अर्ब १० करोड लिटर दूध उत्पादन हुने गरेको छ, जसमा लाखौँ कृषकको जीवनयापन निर्भर छ।

तपाईको प्रतिक्रिया