- सन्तोष यादव, सुनसरी

 सुनसरी /सप्तकोशी नदीमा पाइने गंगेटिक प्रजातिको डल्फिनको वार्षिक गणना यस वर्ष पनि सुरु गरिएको छ। सन् २०२२ देखि नियमित रूपमा हुँदै आएको गणना कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा जारी छ। चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन नेपालमा दुर्लभ मानिन्छन् र संरक्षणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण छन्।

आरक्षका अनुसार गंगासागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिनहरू सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन्। यस वर्षको गणना राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्था लगायतको प्राविधिक सहकार्यमा भइरहेको छ। गणनामा केभी र द रुफोर्ड फाउण्डेशनले पनि सहकार्य गरेका छन्।

चार दिनसम्म चल्ने गणना दुई विधिबाट सम्पन्न हुने बताइएको छ। २०१२ मा ११ वटा र २०१७ मा १७ वटा डल्फिन देखिएपछि डल्फिनको संरक्षणलाई प्राथमिकता दिइएको थियो। त्यसयता वार्षिक गणनाको अभ्यास थालिएको हो। आरक्षका तथ्याङ्कअनुसार २०२२ मा १७, २०२३ र २०२४ मा समान रूपमा १९ वटा डल्फिन गणना गरिएको थियो।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक विरेन्द्र गौतमले चोरी सिकारी नियन्त्रणमा आएको र जनचेतना बढेकाले यस वर्ष डल्फिनको संख्या अझै बढ्न सक्ने अनुमान व्यक्त गरे।

 

धार्मिक आस्थासँग जोडिएको डल्फिनको संरक्षण

डल्फिन केवल जल पारिस्थितिकी तन्त्रकै सूचक होइन, स्थानीय माझी समुदायको धार्मिक आस्थासँग पनि गहिरो रूपमा जोडिएको प्राणी हो। माझी मल्हा संजालका अध्यक्ष गुलाबी मुखियाका अनुसार डल्फिनलाई माझी समुदायकालागि कुलदेवताको रूपमा पुजिँदै आएको छ। वर्षेनी कात्तिक–मंसिरमा नदी पूजा र डल्फिनको विशेष पूजा गर्ने परम्परा अझै जीवित छ।

तर अवैध सिकारले डल्फिन मात्र होइन, समुदायको धार्मिक विश्वासमा पनि चोट पुगेको अध्यक्ष मुखियाको गुनासो छ।

गंगेटिक डल्फिनको संकट र नेपालमा चुनौती

नेपाल, भारत र बङ्गलादेशमा मात्र पाइने गंगेटिक डल्फिनको संख्या पछिल्ला वर्षहरूमा झन्डै ५० प्रतिशतले घटेको छ। हाल यसको विश्वव्यापी संख्या करिब ३ हजारको हाराहारीमा रहेको अनुमान छ। नेपालमा सन् २०११ को अध्ययनले करिब १०० वटा डल्फिन भएको अनुमान गरे पनि, २०१८ को देशव्यापी गणनाले जम्मा ५२ वटा मात्र डल्फिन भेटिएका थिए। तीमध्ये ४३ वटा कर्णाली मोहना क्षेत्रमा र ९ वटा कोशीमा थिए।

डल्फिन नेपालको कोशी, कर्णाली र नारायणी नदी क्षेत्रमा पाइन्छन्। कहिलेकाहीँ महाकालीमा पनि देखिएको भए तापनि हाल त्यहाँबाट लोप भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको “डल्फिन व्यवस्थापन कार्ययोजना २०२१–२०२५” अनुसार डल्फिन पानीको शुद्धताको सूचक हुन्। तिनीहरूको आहार स–साना माछा हुन् भने फागुनदेखि वैशाखसम्म प्रजनन काल हुन्छ।

डल्फिनले ८–९ महिनाको गर्भधारणपछि बच्चा जन्माउने र बच्चाले दुई महिनापछि आहार लिन थाल्ने जैविक चक्र रहेको छ।

संरक्षणमा चुनौती / बाँध र प्रदूषण

जल स्रोतको अति दोहन, नदी प्रदूषण, तथा नेपाल–भारत सिमानामा निर्माण गरिएका ठूला ड्याम र ब्यारेज डल्फिनको आवतजावतमा प्रमुख बाधक बनिरहेका छन्। ब्यारेज खुलेका बेला नेपालबाट भारत गएको डल्फिन फर्कन नसक्ने समस्याले संरक्षणमा थप चुनौती थपेको संरक्षणकर्मीहरू बताउँछन्।

तर पछिल्ला वर्षहरूमा सप्तकोशी नदीमा डल्फिनको स्थिर तथा बढ्दो संख्या संरक्षणको हिसाबले सकारात्मक संकेत भएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र प्रसाद यादव बताउँछन्।

 

तपाईको प्रतिक्रिया