सुनसरी — ह्याकरले बैङ्क खाता ह्याक गरी सेवाग्राहीको १३ लाख ५० हजार रुपैयाँ चोरी गरेका छन्।

मोरङको सुन्दरहरैँचा नगरपालिका–८ निवासी उमनाथ खतिवडाको प्राइम बैंक र नेपाल बैंक लिमिटेडका खाताबाट उक्त रकम चोरी भएको हो। शुक्रबार राति करिब ८ बजेतिर विराट चौकस्थित दुई वटा बैंक खाताबाट ह्याकरले कनेक्ट आइ.पी.एस. (Connect IPS) प्रणालीमार्फत रकम चोरेका हुन्।

खतिवडाका अनुसार, प्राइम बैंकमा रहेको ०३६०१००००००००४८२१९५७ नम्बरको खाताबाट ११ लाख रुपैयाँ माछापुच्छ्रे बैंकको ०२७०९९७५०४५०००१५ नम्बर खातामा ट्रान्सफर गरिएको छ। यस्तै, नेपाल बैंक लिमिटेडको २५३०४००७२९३६६३०००००९ नम्बर खाताबाट नविल बैंकको २०११००१७५०३९७० नम्बर खातामा २ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५५५०८८३०७३० नम्बर खातामा ५० हजार रुपैयाँ ट्रान्सफर गरिएको देखिएको छ।

रकम ट्रान्सफर भएको सन्देश (SMS) आएपछि खतिवडा अचम्ममा परेका थिए र राति नै इलाका प्रहरी कार्यालय, इटहरीमा उजुरी दिएका थिए। प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार, घटनाको अनुसन्धान अघि बढाइएको छ र ह्याकरले रकम पठाएका बैंक खाताहरू तत्काल रोक्का गर्न, केवाइसी विवरण र बैंक स्टेटमेन्ट माग गर्दै सम्बन्धित बैंकहरूलाई पत्र पठाइएको छ।

खतिवडाले भने, “मैले कुनै पासवर्ड दिएको छैन, कुनै ओटिपि कोड पनि पठाएको छैन। कसरी पैसा गायब भयो? यो त बैंकको सिस्टमकै कमजोरी हो, मेरो खाताको पैसा असुरक्षित रहेछ।”

शनिबार भएकोले बैंकहरूसँग थप संवाद हुन नसकेको बताउँदै खतिवडाले आइतबार बैंक खुलेपछि थप कुरा स्पष्ट हुने आशा व्यक्त गरे। प्रहरीले पनि विस्तृत विवरण प्राप्त भएपछि अनुसन्धान थप गहिराइमा लैजाने जनाएको छ।

 

तपाईको प्रतिक्रिया