इनरुवा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर, सुनसरीले मंगलबार इनरुवा नगरपालिका–४ स्थित आफ्नो कार्यालय परिसरमा १८औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ।
दिवस समारोहको प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय, पकली सुनसरीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सशस्त्र प्रहरी बल देश, जनता र सीमा सुरक्षामा प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले सम्बोधनमा नागरिक सुरक्षासँगै राजस्व चुहावट नियन्त्रणमा समेत सशस्त्र प्रहरीको महत्वपूर्ण योगदान रहेको जानकारी दिनुभयो।
कार्यक्रम सशस्त्र प्रहरी उपरीक्षक (गणपति) निर्मल कुमार थापाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तुलसी कट्टेल, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद मियाँ लगायत सरकारी तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी उपरीक्षक थापाका अनुसार नेपाल सरकारको २०६३ फागुन ८ गतेको मन्त्रीपरिषद् निर्णयबाट २०६४ जेठ १४ गते स्थापना भएको यस गणले हाल १७ वर्ष पूरा गरेको छ। २०६५ मंसिर २५ मा मन्त्रिपरिषद्को अर्को निर्णयबाट पाँच बिगाहा बाह कठ्ठा साढे चौध घुर क्षेत्रफलको जग्गा स्थायी भोगाधिकारको स्वीकृति प्राप्त गरी कार्य संचालन हुँदै आएको छ।
वर्तमानमा गण मातहत दुईवटा प्रस्तावित सीमा सुरक्षा गुल्म, ९ वटा BOP (Border Outpost), र ६ वटा सुरक्षा बेस गरी १७ इकाइहरू सञ्चालनमा छन्, जसले सीमा सुरक्षासँगै जिल्लाको समग्र शान्ति सुरक्षामा योगदान पुर्याउँदै आएका छन्।
स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिएको थियो। भलिबल, टेबल टेनिस, २ माइल दौड, हतियार ह्यान्डलिङ्ग, हाजिरी जवाफ प्रतियोगिता जस्ता प्रतिस्पर्धाहरूमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तित्व तथा खेलाडीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ। साथै विद्यालय र समुदाय लक्षित सशस्त्र प्रहरी बलसम्बन्धी प्रस्तुतीकरण, भूतपूर्व सशस्त्र प्रहरीहरूसँग अन्तरक्रिया, रक्तदान, वृक्षारोपण तथा धार्मिक–सांस्कृतिक स्थल सरसफाइजस्ता सामाजिक गतिविधिहरू पनि गरिएको छ।
कार्यक्रम संयोजकहरूका अनुसार जेठ १५ गते दीपावली कार्यक्रम समेत आयोजना गरिनेछ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले स्थापना कालदेखि नै नेपाल–भारत सीमामा डेडिकेटेड फोर्सको रूपमा सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ !