विराटनगर /विराटनगरमा हालै दुर्लभ प्रजातिको स्पिटिङ कोब्रा (Spitting Cobra) फेला परेको छ, जसले आफूलाई खतरा महसुस गर्दा परैबाट विष फाल्ने क्षमतासमेत राख्छ। विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त कोब्रा देखिएको हो।

सर्प देखिएपछि महानगरपालिकाको उद्धार टोलीलाई खबर गरिएपछि उद्धारकर्ता शम्भु घिमिरे नेतृत्वको टोलीले मंगलबार अपराह्न सर्पलाई सुरक्षित नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय मोरङमा बुझाएको थियो। उद्धारको क्रममा सर्पले परैबाट विष फालेको र त्यो विष घिमिरेको शरीरमा परेपछि उनी हाल कोसी अस्पताल, विराटनगरको आकस्मिक कक्षमा स्वास्थ्य निगरानीमा राखिएको छ।

चिकित्सकहरूको अनुसार यस्तो प्रकारको सर्पको विष विशेषगरी अनुहार र आँखामा परेमा गम्भीर असर पु-याउन सक्छ, जसले दृष्टिमा समेत क्षति पुर्याउन सक्ने सम्भावना रहन्छ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाले विराटनगर क्षेत्रका अन्य स्थानहरूमा पनि यस्ता सर्प देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ। महाशाखाका अनुसार गर्मी मौसममा तराई–मधेस क्षेत्रमा सर्पदंशको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ।

 

तपाईको प्रतिक्रिया