इटहरी /ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कोसी प्रदेश कार्यालयले कोसी प्रदेशका विभिन्न जिल्लामा रहेका नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र तथा ग्रिड महाशाखाको संयुक्त अनुगमन तथा सेवाप्रवाह मूल्यांकन सम्पन्न गरेका छन्।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोसी प्रदेश प्रमुख राजीव सिंह र ऊर्जामन्त्री दीपक खड्काको नेतृत्वमा टोलीले आइतबार र सोमबार विराटनगर, दुहबी, इटहरीलगायतका वितरण केन्द्र र ग्रिड महाशाखाको स्थलगत अवलोकन गर्यो।

टोलीले अनुगमनको क्रममा उपभोक्ताहरूसँग प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गर्दै सेवा प्रवाहमा देखिएका समस्या, सम्भावना र सुधारका पक्षमा महत्त्वपूर्ण तथ्यहरू संकलन गरेको छ।

विशेषगरी विराटनगर वितरण केन्द्र, दुहबी वितरण केन्द्र, दुहबी ग्रिड महाशाखा र इटहरी वितरण केन्द्रमा निरीक्षण गर्दा सेवा प्रवाह सामान्यतः सन्तोषजनक पाइए पनि केही गुनासोलाई टोलीले गम्भीर रूपमा लिएको छ।

अनुगमनमा उठेको अचम्मको घटना

अनुगमनकै क्रममा एउटा रोचक र अचम्मको घटना सार्वजनिक भएको छ। सागर थापा नाम बताउने व्यक्तिले साँझ ८:१५ बजे ९७६३७०२*** नम्बरबाट फोन गरी धनकुटामा विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिएका थिए।

तर प्राधिकरणले तत्काल उक्त क्षेत्रको अवस्थाबारे छानबिन गर्दा कतै पनि विद्युत् अवरुद्ध नभएको पुष्टि भयो। थप अनुसन्धान गर्दा ती व्यक्तिले कर्मचारीलाई दुःख दिने नियतले अपमानजनक र उच्छृंखल भाषा प्रयोग गर्दै ‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जाल र युट्युब जस्ता प्लेटफर्ममा राखिदिने धम्कीसमेत दिएको खुलासा भएको छ !

तपाईको प्रतिक्रिया