रौतहट — नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ।

बहुचर्चित रौतहट बम विष्फोट तथा हत्याकाण्डमा जन्मकैदको सजाय पाएका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै निर्दोष ठहर गरेको हो।

यसअघि, रौतहट जिल्ला अदालतले आलमसहित चार जनालाई विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

अदालतको पछिल्लो फैसलाले भने घाइतेलाई इँटाभट्टाको चिम्नीमा जिउँदै जलाइएको भन्ने आरोप पुष्टि हुन नसकेको ठहर गर्दै त्यस अंशमा जिल्ला अदालतको फैसला सदर गरेको छ।

के थियो घटनाको पृष्ठभूमि?

२०६४ चैत २७ गते, संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुर फरहदवा–४ मा रहेको आलमकै घरमा बम विष्फोट भएको थियो। आरोपअनुसार आलमले भारतबाट बम बनाउने व्यक्ति ल्याई चुनाव जित्न बुथ कब्जाको रणनीति बनाएका थिए।
विष्फोटमा त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तर मियाँ घाइते भएका थिए, जसपछि उनीहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको भनिएको थियो।

१२ वर्षपछि मात्र—२०७६ असोज २६ गते— आलम पक्राउ परेका थिए। सर्वोच्च अदालतको हस्तक्षेपपछि मात्र प्रहरीले अनुसन्धानमा गति दिएको थियो। आलममाथि शक्तिको दुरुपयोग गर्दै प्रमाण नष्ट गर्न र अनुसन्धान प्रभावित पारेको आरोप थियो !

तपाईको प्रतिक्रिया