सुनसरी — सुनसरी-मोरङ औद्योगिक करिडोर अन्तर्गत इटहरी–१२ मा अवस्थित तिरूपति प्लाइउड उद्योगमा भीषण आगलागी अझै नियन्त्रण आउन सकेको छैन !

घटनास्थलबाट प्राप्त विवरणअनुसार आगलागी राति साढे २ बजेदेखि सुरु भएको हो र अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिएको छैन। आगो निभाउने प्रयासका लागि सुनसरी र मोरङका विभिन्न स्थानीय तहबाट एक दर्जनभन्दा बढी दमकल परिचालन गरिएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार दमकल टोली र सुरक्षा निकायका सयौँ जना कर्मी अहिले पनि आगो नियन्त्रणको प्रयासमा खटिएका छन्। उद्योगमा प्लाइउड उत्पादनका लागि भण्डारण गरिएका काठ, रसायनलगायतका ज्वलनशील पदार्थहरूका कारण आगो फैलिन झन् सजिलो भएको बताइएको छ।

भण्डारीका अनुसार आगलागीको कारण अहिले सम्म स्पष्ट हुन सकेको छैन। घटनाको विस्तृत छानबिन र क्षतिको विवरण संकलन भइरहेको छ। आगलागीबाट ठूलो मात्रामा आर्थिक क्षति हुने अनुमान गरिएको छ, तर मानवीय क्षतिको विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

स्थानीय बासिन्दा र उद्योगका कर्मचारीहरू घटनास्थल वरपर जम्मा भई त्रास र चिन्ताका बीच घटनाको अपडेट लिइरहेका छन्। यसैबीच, प्रशासनले घटनास्थल वरपरको क्षेत्र खाली गर्न र सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया