इटहरी, इटहरी उपमहानगरपालिकामा वारुणयन्त्र जमदारको पदमा कार्यरत कर्मचारी राजकुमार तामाङको असामयिक निधन भएको छ। उहाँको निधनले उपमहानगरपालिकामा शोकको छाएको छ।
तामाङलाई गत सोमवार उच्च रक्तचापको समस्या देखिएपछि उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उपचारका क्रममा उहाँको आज मृत्यु भएको उपमहानगरपालिकाले जानकारी दिएको छ।
उहाँ लामो समयदेखि उपमहानगरपालिकामा सेवा गर्दै आउनुभएको थियो। तामाङको निधनले इटहरी उपमहानगरपालिकाले एक इमानदार, कर्तव्यनिष्ठ र परिश्रमी कर्मचारी गुमाएको कार्यबाहक नगरप्रमुख संगिता चौधरीले बताउनु भयो। उहाँले तामाङको योगदान सधैं सम्झनलायक हुने उल्लेख गर्दै गहिरो समवेदना प्रकट गर्नुभयो।
स्वर्गीय तामाङको पारिवारिक जीवनमा उहाँकी श्रीमती, तीन छोरा, बुहारीहरू र पाँच नातिनातिनी छन्। परिवारका अनुसार उहाँको पार्थिव शरीरको अन्त्येष्टि तामाङ धर्म र संस्कार अनुसार भोली विहीबार गरिनेछ।
इटहरी उपमहानगरपालिका परिवारले स्व. तामाङको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।