विराटनगर,  मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ स्थित सोल्टी खोलाको वन क्षेत्रमा भीम पौडेल नेतृत्वको समूहले चरम प्राकृतिक दोहन गरेको पाइएको छ। स्काभेटर र टिपर जस्ता ठूला मेसिन प्रयोग गरी वर्षौंदेखि जथाभावी उत्खनन हुँदा वन क्षेत्र गम्भीर संकटमा परेको छ।

स्थानीयका अनुसार मिक्लाजुङ गाउँपालिकासँगको मिलेमतोमा पौडेल समूहले बिना अनुमति ठूला खाल्डा खनेर वातावरण र पर्यावरणमा विनाश निम्त्याएको छ। यसरी अनियन्त्रित उत्खननले बाढी, पहिरो र भू–क्षयको जोखिम बढाएको विज्ञहरुले चेतावनी दिएका छन्।

हालै, सब डिभिजन वन कार्यालय मंगलबारेले वैशाख १३ गते सोल्टी खोलाबाट २ वटा टिपर नियन्त्रणमा लियो। पक्राउ परेका मिक्लाजुङ–४ का धनजीत विश्वकर्मा, मिक्लाजुङ–९ का मानबहादुर विश्वकर्मा र सुन्दरहरैँचा–५ का लोकबहादुर पौडेल अनुसन्धानमा परेका छन्। सो समयमा स्काभेटर भने चालक फरार भएकाले नियन्त्रणमा लिन नसकिएको जनाइएको छ।

अनुसन्धानमा, टिपर विनिता श्री कन्स्ट्रक्सन एन्ड सप्लायर्स (भीम पौडेलको स्वामित्व) को भएको पुष्टि भयो। कम्पनीले उत्खनन अनुमति नलिई ३,८९६.४८ घनमिटर मिक्स गिट्टी उत्खनन गरेको पाइएको हो।

पक्राउ परेका तीनै जनाले भीम पौडेलकै निर्देशनमा काम गरेको बयान दिएका छन्। वन ऐन, २०७६ अन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालत मोरङमा जेठ ६ गते मुद्दा दायर गरिएको हो। तीनै जनालाई जनही १५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने फरार रहेका भीम पौडेल पनि अदालतमा कानुन व्यवसायीमार्फत उपस्थित भएर १५ हजार रुपैयाँ धरौटी बुझाई छुटेका छन्।

अदालतले टिपर फिर्ता लैजान ४२ लाख ७० हजार ७९ रुपैयाँ ५९ पैसा धरौटी माग गरेको थियो, जुन बैंक ग्यारेन्टीमार्फत बुझाइएको अदालत स्रोतले जनाएको छ।

भीम पौडेलले उत्खनन भएको स्वीकार्दै, नयाँ चालकको नजानेर वन क्षेत्रमा गएका कारण यस्तो घटना भएको दाबी गरेका छन्। उनले केही व्यक्तिहरूको दबाबमा आफूविरुद्ध मुद्दा चलाइएको बताउँदै ठेक्कामा पाएको क्षेत्रमै सीमित उत्खनन भएको र ठूलो गल्ती नभएको जिकिर गरेका छन्।

वन कार्यालय स्रोतका अनुसार गाउँपालिकाले पछाडि गएर अनुमतिपत्र बनाइदिएको भए पनि त्यस्तो प्रक्रिया कानुनविपरीत हो। अनुसन्धान अझै अगाडि बढिरहेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया