हो, हात्तीहरूले कहिल्यै बिर्सँदैनन्। उनीहरूको स्मरणशक्ति अद्भुत हुन्छ। जीवनका घटनाहरूलाई उनीहरूले दिमागको कुनै कोमल कर्णेलमा सुरक्षित राख्छन्, जुन बेला आवश्यक पर्छ, त्यहीँबाट निकाल्छन्।
बेलायतको डेली मेल मा प्रकाशित समाचार अनुसार, थाइल्याण्डमा यस्तै एउटा हृदयस्पर्शी क्षण सार्वजनिक भएको छ। १२ वर्षअघि आफ्नो उपचार गर्ने पशु चिकित्सकलाई जंगलमै चिनेपछि हात्तीले सुँड उठाएर अभिवादन गरेको हो।
३१ वर्षीय साँढे हात्ती ‘प्लाई थाङ’ जंगलमा चर्दै थियो। अचानक उसको भेट डा. पात्तारापोल मानीओनसँग भयो — जसले १२ वर्षअघि प्लाई थाङको उपचार गरेका थिए। सन् २००९ मा पूर्वी थाइल्याण्डको रेयोङ क्षेत्रमा प्लाई थाङ गम्भीर बिरामी अवस्थामा भेटिएको थियो।
हात्ती ‘ट्रिपानोसोमियासिस’ नामक घातक परजीवी रोगले पीडित थियो, जसलाई ‘सुत्ने रोग’ पनि भनिन्छ। त्यो बेला उसलाई ज्वरो थियो, भोक हराएको थियो, अनुहार, घाँटी र पेट सुन्निएका थिए, आँखामा सुन्निने समस्या थियो, शरीर कमजोर थियो र रक्तअल्पता देखिएको थियो। राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले उसलाई उपचारका लागि लाम्पाङ प्रान्तको वन उद्योग संगठनमा लगेका थिए। महिनौं लामो उपचारपछि प्लाई थाङ जंगलमा फर्किएको थियो।
१२ वर्षपछि, यो महिनाको सुरुमा, डा. पात्तारापोल जंगलमा गस्ती गरिरहेका थिए, के बिरामी जनावर छन् भनी निरीक्षण गर्दै। त्यतिबेला उनले प्लाई थाङको विशिष्ट आवाज सुने। उनीहरू एकअर्कासँग नजिकिए, र हात्तीले डाक्टरलाई चिनेर सुँड उठाएर अभिवादन गर्यो। डा. पात्तारापोल भन्छन्, “मलाई त्यो आवाज अझै याद छ। प्लाई थाङको आवाज निकै विशेष छ। जब मैले उसलाई पहिलोपटक भेट्दा, ऊ निकै आक्रामक र कमजोर थियो। निको हुन ऊसँग धेरै समय लाग्यो, तर हामीले बुझ्यौं — ऊ निकै चलाख छ।”
“हामी फेरि भेट्यौं, हामीले एकअर्कालाई सम्झियौं र अभिवादन गर्यौं। त्यो क्षण साँच्चै विशेष थियो,” उनले थपे, “मानिसहरूले हात्ती र अन्य जनावरहरूसँग गर्ने सकारात्मक कामको महत्व बुझुन् भन्ने मेरो आशा छ।”
थाइल्याण्डको राष्ट्रिय जनावर हात्तीको संख्या अनुमानित ३,०००–४,००० रहेको छ, जसको कम्तीमा आधा घरपालुवा छन् भने बाँकी प्राकृतिक संरक्षण केन्द्र र जंगलमा बस्छन्।