सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिका–३ अन्तर्गत कालिन्द्र सामुदायिक वन क्षेत्रमा शनिबार साँझ प्रहरी र गाँजा तस्कर समूहबीच तनाव सिर्जना भयो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले तस्कर नियन्त्रणमा लिन गोली चलाएको हो।
प्रहरी टोली देख्नेबित्तिकै वनभित्रबाट गाँजाका बोराहरू बोकेका करिब ४–५ जना तस्कर भागे। उनीहरूलाई रोक्न प्रहरीले दुई राउन्ड हवाई फायर गरे पनि बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बुले प्रहरीमाथि खुकुरी प्रहार गर्न खोजेपछि बाध्य भएर गोली चलाइएको प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। ‘आत्मरक्षाका लागि दुई राउन्ड हवाई फायरपछि लिम्बुको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली हानिएको हो,’ एसपी तिम्सिनाले भने।
घाइते लिम्बुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई उपचारका लागि प्रहरी निरीक्षक दिवस कुँवरको टोलीमार्फत बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगेको छ। हाल उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
घटनास्थलबाट प्रहरीले घरेलु हतियारहरू — १ थान खुकुरी, १ थान गिडुवा आरा र १ थान तिखो खन्ती बरामद गरेको छ। साथै, इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।