झापा, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र भारतबाट झापाको काँकडभिट्टा नाकामार्फत ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाल आयात भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चैत महिनामा मात्रै ५ लाख १० हजार २३० केजी खरबुजा, जसको मूल्य १ करोड ३३ लाख ७ हजार रुपैयाँ पर्छ, नेपाल भित्रिएको छ। चैत महिनामा खरबुजा आयात उच्चतम रहेको देखिन्छ।
साउनदेखि वैशाखसम्म खरबुजा आयातको दर औसत लाखौँ केजी रहँदा स्वदेशी उत्पादन भने बजारमा माग अभावका कारण प्रभावित भएको स्थानीय व्यवसायीहरू बताउँछन्।
झापा जिल्लामा व्यावसायिक रूपमा खरबुजा खेती हुँदै आए पनि मूल्य प्रतिस्पर्धामा भारतीय उत्पादनसँग पछि परेका कारण किसानहरू निराश छन्।
भारतीय खरबुजाको दबाबमा स्वदेशी उत्पादन संकटमा
मेचीनगर–१५ स्थित ‘नेपाली बाबु स्मार्ट कृषि फार्म’ का सञ्चालक लीला खनालका अनुसार, उनीहरूले गत वर्ष १३ बिघा जमिनमा खरबुजा खेती गरेर करिब ३५० मेट्रिक टन उत्पादन गरेका थिए। तर भारतीय खरबुजा सस्तो मूल्यमा उपलब्ध भएकाले स्वदेशी खरबुजाको मागमा गिरावट आएको खनालको गुनासो छ।
“गुणस्तर राम्रो हुँदाहुँदै पनि हामी मूल्य प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं,” खनालले भने, “खरिदकर्ताहरू सस्तोमा पाइने आयातित खरबुजातिर नै आकर्षित हुन्छन्।”