संखुवासभा, संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्प्रङमा दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले एक बालिकाको शव नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, मृत्युको कारणको औपचारिक अनुसन्धान विना दाहसंस्कार गर्न लागिएको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिइएको हो। शव ६ वर्षीया युनिका तामाङको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतको टोलीले गुरुङचोक, खाँदबारी नगरपालिका–३ बाट एम्बुलेन्समार्फत शव नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा प्राप्त विवरणअनुसार, वैशाख ३० गते घरायसी विवादका क्रममा युनिकाकी आमा कल्पना (गुरुङ) तामाङ र जेठाजु गोपाल तामाङबीच झगडा भएको थियो। सोही झगडाका क्रममा कल्पनाले युनिकालाई धकेलेकी थिइन्, जसले गर्दा उनी डिलबाट लडेर गम्भीर घाइते भएकी थिइन्।

प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल संखुवासभा पुर्‍याइएकी युनिकालाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो। तर, जेठ ७ गते उपचारकै क्रममा उनकी मृत्यु भएको हो।

हाल शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको छ र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया