
इटहरी —पछिल्लो समय बालबालिकामाझ लागु औषधको प्रयोग बढ्दै गएका कारण इलाका प्रहरी कार्यालय इटहरीले विद्यालयस्तरीय सचेतना अभियान सुरु गरेको छ। युवा अवस्था र साथीसँगको प्रभावका कारण सामान्य रूपमा सुरु भएको लागु औषध प्रयोग क्रमशः कडा औषधिको कुलतमा रूपान्तरण हुँदै गएको प्रहरीको अध्ययनले देखाएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरु गरिएको यो अभियानको सुरुवात इटहरीस्थित विश्व आदर्श माध्यमिक विद्यालयबाट गरिएको हो। उक्त विद्यालयमा रोटरी क्लब अन्तर्गत इन्ट«ाक्ट क्लब विश्व आदर्श र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा कक्षा ९ का करिब १०० जना विद्यार्थी सहभागी थिए। सहभागी विद्यार्थीहरूलाई लागु औषध प्रयोगबाट उत्पन्न हुने सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी समस्याबारे प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा लागु औषधको प्रारम्भिक प्रयोगबाट उत्पन्न जोखिम र दीर्घकालीन असरबारे विशेष जानकारी प्रदान गरियो।
इलाका प्रहरी कार्यालय इटहरीका वरिष्ठ सई कृष्ण अधिकारीका अनुसार, “नेपालमा गरिएको एक अध्ययन अनुसार लागु औषध प्रयोगकर्तामध्ये करिब ७० प्रतिशत बालबालिका र किशोरकिशोरीहरू रहेका छन्। धेरैले सानो उमेरमै अन्जानमा लागु औषधको प्रयोग सुरु गर्छन्, जसले गर्दा पछि उनीहरू कुलतमा फस्ने सम्भावना अत्यधिक हुन्छ।”
रोट्र्याक्ट क्लब विश्व आदर्शका उपाध्यक्ष भविक कर्णले (सुसान्त) यो अभियानलाई इटहरीका अन्य विद्यालयसम्म विस्तार गरिने जानकारी दिए। उनका अनुसार, “समाज र भविष्यका कर्णधार विद्यार्थीहरूलाई सुरुवातमै सचेत गराउन सकेमा कुलत नियन्त्रणमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ।”








