काठमाडौं,  आकर्षक तलब र रोजगारीको प्रलोभन देखाउँदै दक्षिण कोरिया लैजाने बहानामा ठगी गर्ने सुनसरीको भोकाहा नरसिंह–७ निवासी ३२ वर्षीय रमेश कुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१६, पेप्सीकोलामा बसोबास गर्दै आएका यादवले तीन जना पीडितसँग झुटा आश्वासन दिँदै कुल रु. २६ लाख ८० हजार असुलेको प्रहरी अनुसन्धानमा खुलेको छ। पैसा लिएपछि उनी सम्पर्कविहीन बनेका थिए।

पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यादवमाथि अन्य २ वटा ठगीसम्बन्धी मुद्दा समेत दर्ता छन्, र उनी फरार अभियुक्तको सूचीमा समेत रहेका थिए।

हाल उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ !

तपाईको प्रतिक्रिया