इटहरी, समाजमा सुदृढ दाम्पत्य सम्बन्धको उदाहरण प्रस्तुत गर्न सुन्दरहरैंचा नगरपालिकाले अनौठो तर प्रेरणादायी कदम चालेको छ। नगरपालिकाले लामो समयदेखि मिलेर जीवनयापन गरिरहेका आदर्श श्रीमान्-श्रीमतीको जोडी — ‘ढुकुर जोडी’ — को खोजी थालेको हो।

नगरपालिकाको न्यायिक समितिमा दिनानुदिन बढ्दै गइरहेका पती-पत्नी बिचको झैझगडा तथा मुद्दाको पृष्ठभूमिमा, यस्तो उदाहरणीय जोडीलाई सम्मान गर्न खोजिएको जनाइएको छ। यस अभियानको उद्देश्य समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु, सम्बन्ध विच्छेद तथा लैंगिक हिंसाका घटना न्यूनीकरण गर्नु रहेको छ।

नगरपालिकाले जारी गरेको सूचनामा, ढुकुर जोडीको रूपमा आवेदन दिन चाहने जोडीहरूले निश्चित योग्यता पूरा गरेको हुनुपर्ने उल्लेख गरिएको छ। ती योग्यता यस्ता छन्:

  • विवाह भएको कम्तीमा १० वर्ष पूरा गरेको हुनु पर्ने।
  • श्रीमान् र श्रीमती दुवैको नेपाली नागरिकता अनिवार्य।
  • विवाह दर्ता गरिसकेको हुनु पर्ने।
  • स्थायी रूपमा सुन्दरहरैंचा नगरपालिकाको बासिन्दा भएको।
  • संयुक्त परिवारमा निरन्तर बसोबास गर्दै आएको।
  • बुबाआमा वा सासुससुराको माया, स्याहार र हेरचाह गरेको प्रमाणित गर्न सक्ने।
  • अदालत, प्रहरी वा कुनै न्यायिक निकायमा दाम्पत्य झगडाको उजुरी नदिएको।
  • वैदेशिक रोजगारीमा २ वर्षभन्दा बढी समय बिताएको नभएको।

नगरपालिकाले यस्ता योग्य जोडीहरूलाई आवेदन फारम बुझाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
यो पहलले समाजमा दीर्घकालीन र सहमति आधारित सम्बन्धको महत्वलाई उजागर गर्ने तथा नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास लिइएको छ।

 

तपाईको प्रतिक्रिया