सुनसरी — जब शहर अझै निद्रामा हुन्छ, त्यहीबेला शान्ति श्रेष्ठको दिन सुरु भइसकेको हुन्छ। बिहानको पहिलो उज्यालोसँगै धरानबाट मोरङको भावन्ने पुग्ने उहाँको यात्रा सुरु हुन्छ—मकै किन्ने र फेरि धरान फर्कने। दिनको दस या एघार बज्दासम्म फेरि उहाँको हातमा हुन्छन् मकैका घोगा, अनि सुरु हुन्छ आगो र धुवासँगको खेल।

५९ वर्षीया श्रेष्ठ तीन दशकभन्दा बढी समयदेखि यही काममा समर्पित हुनुहुन्छ। उहाँले दैनिक झण्डै १६० घोगा मकै पोल्नुहुन्छ। उमेरको सिमा नमान्ने उहाँको जाँगर अझै पनि उस्तै छ। “काम गर्नैपर्छ भन्ने मानसिक तयारी भएपछि न त उमेरले छेक्छ, न त समस्याले। काममा लगाव भयो भने बोझ कहिल्यै लाग्दैन,” उहाँ बताउनुहुन्छ।

श्रेष्ठले मोरङका विभिन्न स्थानका मकैबारी ठेक्कामा लिएर कारोबार गर्नुहुन्छ। एक बारीको ठेक्का ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्न सक्छ। एक्लैले सम्भव नभएपछि दुई–तीन जनाको साझेदारीमा काम भइरहेको छ। “कहिले नाफा, कहिले घाटा, यही नै त व्यापार हो,” उहाँ हाँस्दै भन्नुहुन्छ।

मकैको मूल्य प्रतिघोगा साइज अनुसार १५ देखि ५० रुपैयाँसम्म पर्छ। यस्तै मेहनतले उहाँ मासिक ७०–८० हजार रुपैयाँको कारोबार गर्दै आउनु भएको छ। “सटर छैन, छानो छैन, तर मसँग छ—मेहनत गर्ने आँट। मकै पोलेरै जिन्दगी गुजारीरहेकी छु।”

छ वर्षअघि श्रीमानको निधनपछि उहाँ अहिले एकल जीवन बिताइरहनु भएको छ। पहिले श्रीमान सघाउँथे, अहिले उहाँ एक्लैले काम सम्हालिरहनु भएको छ। “घाम लाग्दा गर्मी हुन्छ, खुला आकाशमुनि दुःख त पर्छ, तर काम छोड्न सकिँदैन,” थकित अनुहारमा पनि आशा झल्काउँदै उहाँ भन्छिन्।

धरानको लक्ष्मीचोकनजिकको गल्लीमा उहाँ तीन दशकदेखि मकै पोल्दै आउनु भएको छ। यही कामले उहाँलाई आत्मनिर्भर बनाएको छ। “अरूको सहारा खोज्ने उमेरमा म आफैँ कर्म गरेर बाँचेकी छु। सकुञ्जेल काम गर्ने हो, नसकेपछि जे हुन्छ, त्यही सहने हो,” उहाँको आत्मविश्वासी स्वर सुन्न योग्य लाग्छ।

आज पनि, जुन दिन काममा निस्कन सक्नुहुन्न, उहाँलाई छटपटी हुन्छ। “श्रम गरेकै कारण आजसम्म टिकिरहेकी छु। मकै बेचेको पैसाले मात्र होइन, त्यसमा जोडिएको श्रम र आत्मसम्मान नै मेरो असली सम्पत्ति हो,” मुस्कुराउँदै उहाँ भन्छिन्, “सन्तोष नै साँचो कमाई रहेछ !

तपाईको प्रतिक्रिया