काठमाडौं, प्रेस काउन्सिल नेपालले पत्रकारिताको आडमा गैरपेसागत तथा अनैतिक गतिविधि भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरी लगायतका जिल्लामा पत्रकारको नाममा अनुचित कार्यहरू भइरहेको गुनासो आएको उल्लेख गरेको छ।
सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफूलाई पत्रकारको रूपमा चिनाउँदै केही व्यक्तिहरूले सरकारी तथा गैरसरकारी कार्यालयहरूमा विज्ञापनका नाममा बार्गेनिङ गर्ने, धम्की दिने, अनधिकृत प्रेस कार्ड बनाएर अनैतिक गतिविधिमा संलग्न हुने कार्यहरूबारे गुनासा आएका छन्।”
काउन्सिलले यस्ता क्रियाकलाप पत्रकारिताको मूल मर्मविपरीत भएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ र सम्बन्धित सबै पक्षलाई यस्ता गैरकानुनी गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ।
त्यस्तै, पत्रकारिताको आचरण उल्लंघन गर्ने ११ वटा अनलाइन सञ्चारमाध्यमहरूलाई कालोसूचीमा राखिएको जानकारी काउन्सिलले दिएको छ। तीमध्ये पाँच सञ्चारमाध्यमले क्षमायाचनासहित आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपछि कालोसूचीबाट हटाइएको छ।
साथै, सिरहामा पत्रकारितासम्बन्धी आएका गुनासाबारे विवरण माग गर्दै नेपाल पत्रकार महासंघको सिरहा शाखालाई सात दिनभित्र प्रतिवेदन पेश गर्न पत्राचार गरिएको काउन्सिलले जनाएको छ।