- सन्तोष यादव । सुनसरी

इटहरी — स्थानियको बारम्बार विरोध र कानुनी प्रक्रिया नपुगेको भन्दै इटहरी उपमहानगरपालिकाले बन्द गर्न निर्देशन दिएको इटहरी–१० स्थित अक्सफाल्ट प्लान्ट उद्योगले उद्योग सञ्चालनका लागि विविध प्रपञ्च अपनाउँदै आएको खुलासा भएको छ।

रानी–विराटनगर–धरान–छलेन सडक निर्माण परियोजनाको लागि अस्थायी रुपमा स्थापना गरिएको यो उद्योग, परियोजनाको काम सम्पन्न भइसकेपछि पनि निरन्तर रूपमा सञ्चालनमा रहेको पाइएको छ। ‘भूमि कन्स्ट्रक्सन’ स्वामित्वमा रहेको उद्योगले निर्माणाधीन अन्य स्थानहरूमा कालोपत्रे गर्न प्रयोग हुने सामग्री बिक्री गर्दै आएको छ ।

नेपालको उद्योग तथा वातावरण सम्बन्धी कानुनअनुसार, यस्ता अस्थायी उद्योगहरू परियोजना सकिएपछि बन्द गर्नु पर्ने स्पष्ट प्रावधान छ । तर, उद्योगका व्यवस्थापक रमेश झा भने सडक मर्मतसम्भारका कार्यहरू बाँकी रहेको भन्दै उद्योग सञ्चालनमा रहेको दाबी गर्छन् । तथापि, उनले कानुनअनुसार यस किसिमको उद्योग अन्य स्थानमा निर्यात गर्न मिल्छ वा मिल्दैन भन्ने स्पष्ट जवाफ दिन सकेनन् ।

पर्यावरणीय असर र स्थानियको विरोध

उद्योगको प्रदूषणबाट इटहरी–१२ स्थित शान्तिटोलका बासिन्दा दीर्घकालदेखि पीडित छन । तिनै स्थानियको निरन्तर दबावपछि उपमहानगरपालिकाको वातावरण शाखाले उद्योगको कानुनी वैधता र मापदण्ड सम्बन्धमा लिखित प्रश्न पत्रसमेत काटेको छ ।

तर, उद्योगले इटहरी नगरपालिकाको निर्देशनको अवमूल्यन गर्दै, उद्योग संगठन मोरङमार्फत प्रदूषण मापन गर्ने उपकरण र प्राविधिक ल्याएर एकल परीक्षण मङ्गलवार सम्पन्न गरेको थियो । यस परीक्षणमा न त स्थानिय जनप्रतिनिधि, न त नगरपालिकाका प्राविधिकहरू सहभागी थिए । इटहरी–१२ का वडा अध्यक्ष भुवनराज पोखरेल र वडा नं १० का अध्यक्ष अवधेश चौधरी दुवैले परीक्षणको बहिष्कार गरेका थिए ।

इटहरी वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले भने, “प्रदूषण परीक्षण विश्वसनीय ठहर्न स्थानिय पीडित, जनप्रतिनिधि र प्राविधिकको उपस्थिति अनिवार्य हुन्छ।” उनले थपे, “हामीले पठाएको पत्रको जवाफ नआएकोले तत्काल थप धारणा दिन सक्दिन । ”

स्वीकृति बिना उद्योग सञ्चालन अवैध

नेपालमा कुनै पनि उद्योग सञ्चालन गर्न पूर्वस्वीकृति आवश्यक हुन्छ । अक्सफाल्ट जस्तो प्रदूषणजन्य उद्योग सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अनिवार्य हुन्छ । यसका साथै, यस्तो उद्योग बस्ती, विद्यालय, अस्पताल,जल,जङ्गल जस्ता संवेदनशील क्षेत्र नजिक राख्न पाइँदैन ।

नेपालको विद्यमान कानुनी प्रावधान अनुसार दर्ता र अनुमति विना उद्योग सञ्चालन गरेमा उद्योग बन्द गर्ने वा सिल गर्ने र जरिवाना गराउनुको सार्थै उद्योग सञ्चालकमाथि कैद वा अन्य कानुनी कारवाही हुन्छ । त्यसतै वातावरणीय क्षतिपूर्तिको समेत भराउनु पर्ने प्रावधान रहेको छ ।

निष्कर्षः
इटहरीको अक्सफाल्ट उद्योगले स्थानिय जनस्वास्थ्य र वातावरणीय सुरक्षालाई चुनौती दिँदै कानुन उल्लङ्घन गरिरहेको देखिन्छ। यदि यसप्रकारको गैरकानुनी गतिविधिलाई समयमै रोकिने व्यवस्था नगरिए, यसले भविष्यमा थप गम्भीर परिणाम निम्त्याउन सक्छ।

 

तपाईको प्रतिक्रिया