सुनसरी, संघीय संसद अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायको मानव अधिकार अवस्था बुझ्न स्थलगत अध्ययन सुरू गरेको छ । समितिको टोलीले आरक्षसँग जोडिएका स्थानीय बासिन्दा, जनप्रतिनिधि, निकुञ्ज प्रशासन तथा सरोकारवालाहरूसँग अन्तक्र्रिया गर्दै सुझाव सङ्कलन सुरु गरेको छ ।
समितिका सभापति विमला सुवेदीका अनुसार अध्ययनको उद्देश्य आरक्ष क्षेत्रभित्र बसोबास गर्ने समुदायका मानव अधिकार, कानुनी चुनौती, द्वन्द्व समाधान तथा दीर्घकालीन सुधारका उपाय पहिचान गर्नु हो । “देशभरका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको अवस्था अध्ययन गर्न चार वटा टोली बनाइएको छ, जसको पहिलो चरण कोशीटप्पुबाट सुरू गरिएको हो,” सुवेदीले बताउनुभयो ।
अध्ययन टोलीमा सभापति सुवेदीसहित सांसदहरू पुष्पबहादुर शाह, रञ्जुकुमारी झा, समितिका सचिव रामहरी थापालगायतका प्रतिनिधहरुको सहभागी रहेको छ । टोलीले सुनसरी, सप्तरी र उदयपुर जिल्लाका विभिन्न स्थानमा स्थलगत अवलोकन गर्दै आजदेखी तीन दिन सम्म सुझाव सङ्कलन गर्ने छन् ।
मानव–वन्यजन्तु द्वन्द्व र समाधान खोजी
कोशीटप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार आरक्ष क्षेत्रभित्र मानव र वन्यजन्तुबीचको द्वन्द्व दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । यस्ता समस्या समाधानका लागि दीर्घकालीन नीति निर्माण र स्थानीय जनताको सहभागिता अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।
समितिको स्थलगत अध्ययनले स्थानीय सरोकारवाला, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, सञ्चारकर्मी तथा अन्य सरोकारवालासँग छलफल गरी आवश्यक सुधारका सिफारिससहित प्रतिवेदन तयार गर्नेछ ।
देशभरका आरक्षमा अध्ययनको तयारी
कोशीटप्पु बाहेक समितिले ढोरपाटन शिकार आरक्ष, बर्दिया, शुक्लाफाँटा, चितवन तथा पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा समेत मानव अधिकारको अवस्था, कानुनी अवरोध र सुधारका सम्भावनाहरू अध्ययन गर्ने योजना बनाएको छ । सबै क्षेत्रबाट प्राप्त सुझाव तथा सिफारिसहरूको आधारमा विस्तृत प्रतिवेदन तयार पारिने र त्यसअनुसार नीतिगत सुधारको सिफारिस गरिने सभापति सुवेदीले जानकारी दिनुभयो ।
स्थलगत अध्ययनबाट सङ्कलित सुझावहरू संसदीय समितिमा पेश गरिनेछ, जसको आधारमा नीति निर्माणमा सहयोग पु¥याउने लक्ष्य रहेको समितिको भनाइ छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष र यसको महत्व
नेपालको पूर्वी तराईमा अवस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधताको दृष्टिले अति महत्वपूर्ण क्षेत्रका रूपमा चिनिन्छ । १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष २०३२ सालमा स्थापना गरिएको हो, मुख्यतः जंगली भैंसी (अरना) को संरक्षणका लागि ।
आरक्षको क्षेत्र कोशी नदीको आसपास फैलिएको हुँदा यहाँ जल, स्थल र दलदलीय पारिस्थितिक तन्त्र पाइन्छन् । यही कारणले गर्दा यहाँ विभिन्न प्रजातिका वनस्पति र जनावरहरूको बसोबास रहेको छ । हालसम्म यहाँ ५ सय ३५ भन्दा बढी प्रजातिका चराहरू, २ सय प्रजातिका पानी हाँस ,४० स्तनधारी,१ सय ४१ प्रजातिका माछा,७७ प्रजातिका पुतली,२१ प्रजातीका पट्याग्रार ५ सय १४ प्रजातिका वनस्पती याहाँ पाइन्छ ।
कोशी टप्पु अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त “रामसार साइट“ पनि हो, जसले यसको जलचर जैविक विविधताको महत्वलाई पुष्टि गर्छ । यो क्षेत्र विशेष गरी प्रवासी चराहरूको लागि अत्यन्तै उपयुक्त मानिन्छ । जाडो याममा साइबेरिया, मंगोलिया लगायत उत्तरतर्फका देशहरूबाट हजारौं चराहरू यहाँ आउँछन् ।
यहाँ पाइने अर्ना दुर्लभ प्रजाति हो, जसको संरक्षणमा आरक्षको भूमिका महत्वपूर्ण मानिन्छ । साथै, हात्ती, चित्तल, बँदेल, निलगाइ, र विभिन्न प्रजातिका सर्प तथा माछा पनि यहाँ देख्न पाइन्छ ।
आरक्षको पर्यावरणीय, शैक्षिक तथा पर्यटन महत्व पनि उच्च छ । कोशी टप्पु भ्रमण गर्ने पर्यटकहरूले चराहरूको अवलोकन, डुङ्गा यात्रा, र स्थानीय आदीवासीहरुको संस्कृतिको अनुभव गर्न सक्छन ्। यसले स्थानीय समुदायको जीविकोपार्जनमा पनि सकारात्मक प्रभाव पारेको छ ।
तर, आरक्षमा देखिएको मानव–वन्यजन्तु द्वन्द्व, नदी कटान, र चरन क्षेत्रको अतिक्रमणले दीर्घकालीन संरक्षणका लागि चुनौती उत्पन्न गरिरहेको राष्ट्रि«य प्रकृतिक संरक्षण कोषका कोशी प्रदेश सयोंजक विरेन्द्र गौतमले जानकारी दिनु भयो ।