सुनसरी, सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका अफ्रिकन स्वाइन फिभर (ASF) को उच्च जोखिममा परेको छ। पछिल्लो तथ्याङ्क अनुसार, यहाँका विभिन्न बङ्गुर फार्महरूमा हालसम्म ३६ वटा बङ्गुरको मृत्यु भइसकेको छ भने ५७ वटा अझै सङ्क्रमणको चपेटामा छन्।
इनरुवा स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. मनोजकुमार महतोका अनुसार, स्थानीय स्तरमा व्यावसायिक रूपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको हो।
विशेषगरी वराहक्षेत्र–१ स्थित दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा संक्रमण देखिएको छ, जसमा १७ वटा मरेका छन्। यस्तै बराह बङ्गुर फार्ममा १५ बङ्गुरमा संक्रमण देखिएकोमा ७ वटा मरेका छन्। स्थानीय सुबास श्रेष्ठद्वारा सञ्चालन गरिएको फार्ममा २२ बङ्गुर संक्रमित रहेका छन्, जसमध्ये १२ वटा मृत भएका छन्।
डा. महतोका अनुसार, स्वाइन फिभरको सङ्क्रमण अत्यन्त संक्रामक प्रकृतिको भएकोले तत्काल नियन्त्रणका उपायहरू आवश्यक छन्।
यसअघि पनि सुनसरीका दुहबी, रामधुनी र धरान क्षेत्रमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिइसकेको थियो। तर वराहक्षेत्रमा एकैपटक यति ठूलो संख्यामा बङ्गुर मरेको यो पहिलो घटना हो।
सम्भावित उपाय र सर्तकता
स्वाइन फिभरबाट जनस्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने भए पनि पशुपालन व्यवसायमा गम्भीर असर पर्ने भएकाले सम्बन्धित निकायले संक्रमण फैलिन नदिन तत्काल क्वारेन्टिन, बाङ्गुरहरूको स्थानान्तरणमा प्रतिबन्ध, र संक्रमित फार्मको कीटाणुनाश गरिनु आवश्यक रहेको विज्ञहरूको भनाइ छ।