सुनसरी / नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका रानी नाकामा नेपाली प्रहरीले  कडाई गरेपछि भारतीय बजार जोगबनीमा व्यापार ५० प्रतिशतले घटेको छ। यसअघि सतप्रतिशत व्यापार हुने जोगबनी बजार अहिले सुनसान बन्दै गएको व्यवसायीहरूको भनाइ छ।

जोगबनीस्थित मुन्ना किरानाका सञ्चालक मुन्नाले भने, “जेठ २ गतेदेखि रानी नाकामा सुरु भएको कडाईका कारण व्यापार झण्डै आधाले घटेको छ।”

गृहमन्त्री रमेश लेखकको निर्देशनमा कडाई सुरु गरिएको हो। नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका लेखकले कोशी प्रदेशमा आयोजित सुरक्षा गोष्ठीमा सिमा नाकाबाट हुने तस्करी रोक्न कडा कदम चाल्ने चेतावनी दिएका थिए।

नेपालका विभिन्न भूभाग—कोशी प्रदेशदेखि काठमाडौंसम्मका सर्वसाधारण भारतको जोगबनी बजारमा लत्ता कपडा, खाद्यान्न लगायतका सामग्री किनमेल गर्न जाँदै आएका छन्। यहाँ किनमेल गर्न सरकारका उच्च ओहदाका कर्मचारी र उनीहरूका परिवार समेत पुग्ने गरेका छन्।

जोगबनी बजारमा महिनैपिच्छे अर्बौं रुपैयाँ बराबरको कारोबार हुने गर्दछ। मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरका अध्यक्ष पवनकुमार सारडाले वैशाख ३१ गते गृहमन्त्रीसँग छलफल गरी कडाई गर्न अनुरोध गरेका थिए।

सुरक्षाकर्मीले नियन्त्रण कडा बनाएपछि नेपाली ग्राहकहरू खाली हात फर्कन बाध्य भएको दृश्य आम देखिन थालेको छ।

विराटनगरस्थित सेन्टर बजारका व्यवसायी राकेश जैनले भने, “रानी नाकामा कडाई सुरु भएयता हाम्रो कारोबारमा उल्लेखनीय वृद्धि भएको भन्न सकिने अवस्था छैन।”

तपाईको प्रतिक्रिया