वराहक्षेत्र — “छ दिनको मात्र उमेर भएकी बाछीले दूध दिन थाल्यो” भन्ने सुन्दा अविश्वसनीय लाग्न सक्छ, तर सुनसरीको वराहक्षेत्र नगरपालिका–११, मधुवनमा यस्तै एक अनौठो र दुर्लभ घटना घटेको छ, जसले सम्पूर्ण गाउँभरि चासो, कौतुहलता र धार्मिक उत्साहको माहोल सिर्जना गरेको छ।

स्थानीय कृषक सन्तोष यादवका अनुसार, उक्त बाछी गाईले व्याएर जन्माएको हो र अहिले उसको उमेर जम्मा छ दिन पुगेको छ। तर आश्चर्यजनक रूपमा, बाछीको शारीरिक बनावट — विशेषतः थुन (फाँचाे) — पूर्ण विकसित गाईजस्तो देखिन्छ। स्थानीयवासीहरूले बाछीको थुनमा दूध भरिएको देखेका छन्, र थुनमा हल्का दबाब दिँदा साँच्चिकै दूध निस्किरहेको पुष्टि गरेका छन्।

सन्तोष यादव भन्छन्, “मैले जीवनमा यस्तो चिज कहिल्यै देखेको थिइनँ। जन्मेको केही दिनमै थुनमा यस्तो विकास हुनु अचम्मकै कुरा हो। हामी त देखेर नै स्तब्ध भयौँ।”

यस घटनाले गाउँमा एक प्रकारको ‘धार्मिक तरङ्ग’ नै ल्याएको छ। धेरैले यो कुनै चमत्कारी घटना भएको विश्वास गरेका छन् भने केहीले बाछीलाई देवीको अवतारको रूपमा पूज्न थालेका छन्। बाछीको दर्शन गर्न वरपरका गाउँहरूबाट पनि सर्वसाधारणहरूको भीड लाग्न थालेको छ। केहीले त यस बाछीको दर्शनले पुण्य मिल्ने विश्वाससमेत गर्न थालेका छन्।

सो बाछीको फोटो र भिडियोहरू अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन्। धेरैले यसलाई “प्राकृतिक चमत्कार” भन्दै शेयर गरिरहेका छन्, भने केहीले वैज्ञानिक परीक्षणको आवश्यकता औंल्याएका छन्।

पशु चिकित्सकहरूको भनाइमा, यस्तो घटना अत्यन्तै दुर्लभ हो र सामान्य जैविक प्रणाली अनुसार असम्भव नै मानिन्छ। सुनसरीस्थित एक पशु सेवा प्राविधिकका अनुसार, “यो सम्भवतः कुनै जैविक असमानता (genetic anomaly) वा हार्मोनल असन्तुलनको परिणाम हुनसक्छ। तर, वैज्ञानिक परीक्षण नगरी यकिन भन्न सकिंदैन।”

यद्यपि हालसम्म बाछीको स्वास्थ्य सामान्य देखिएको छ, विशेषज्ञहरूले दीर्घकालीन असर पर्न सक्ने भन्दै निरन्तर निगरानीमा राख्न सुझाव दिएका छन्। पशु चिकित्सकहरूको एक टोलीले घटनाको वास्तविकता बुझ्न स्थलगत अध्ययनको तयारी गरिरहेको छ।

यस अनौठो घटनाले वराहक्षेत्र–११ मधुवनलाई देशभर चर्चाको केन्द्र बनाइदिएको छ। 

तपाईको प्रतिक्रिया