धरान,  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद रिक्त भएको एक महिना नाघिसकेको छ। चैत २७ गतेदेखि खाली उक्त पद हाल डा. सञ्जीव शर्माले निमित्त रूपमा सम्हालिरहेका छन्। तर, स्थायी नेतृत्व अभावले संस्थानको दीर्घकालीन नीति, बजेट निर्माण र सेवा प्रवाहमा असर परेको गुनासो उठिरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका चार प्रतिष्ठानमध्ये बीपी कोइराला प्रतिष्ठानमा समेत नेतृत्वविहीन अवस्था रहँदा प्रशासनिक स्थायित्व, अनुसन्धान, तथा शैक्षिक गुणस्तरमा चुनौती थपिएको छ। कर्मचारीहरूका अनुसार, निमित्त नेतृत्वले ठोस निर्णय लिन नसक्ने हुँदा संस्थागत प्रगति प्रभावित भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, “प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि मन्त्रालय चाँडै प्रक्रिया अघि बढाउने तयारीमा छ।” तर मन्त्रालय स्रोतका भनाइ अनुसार राजनीतिक भागबण्डा नमिल्दा प्रक्रिया अघि बढ्न सकेको छैन।

स्वास्थ्य शिक्षा नीति र अन्तर्राष्ट्रिय सहकार्यका हिसाबले अत्यन्त महत्वपूर्ण मानिने बीपी कोइराला प्रतिष्ठानमा स्थायी नेतृत्वको अभाव गम्भीर चुनौतीका रूपमा देखिएको छ। विशेषज्ञहरू भन्छन्, “निमित्त नेतृत्वको कार्यकाल अनिश्चित हुने भएकाले उनीहरू रणनीतिक निर्णय लिन हिचकिचाउँछन्, जसले दीर्घकालीन दृष्टिकोण प्रभावित बनाउँछ।”

नियुक्तिमा भइरहेको ढिलाइले संस्थानको प्रशासनिक स्थायित्व मात्र नभई स्वास्थ्य शिक्षाको गुणस्तर र दीर्घकालीन नीति निर्माणमा समेत प्रतिकूल असर पारेको विश्लेषण गरिएको छ :

तपाईको प्रतिक्रिया