सुनसरी  । साढे दुई महिनादेखि लम्बिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विवाद अन्ततः टुंगिएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मङ्गलवार भएको छलफलपछि नयाँ गभर्नरको नियुक्तिमा सहमति जुटेको हो।

कांग्रेस उच्च स्रोतका अनुसार दुवै नेताले प्रा.डा. विश्वनाथ पौडेललाई नयाँ गभर्नर नियुक्त गर्ने सहमति गरेका छन्। नाममा सहमति जुटेसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ, जसपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्।

यदि पछिल्लो सहमति यथावत् रह्यो भने आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट पौडेलको नियुक्ति औपचारिक रूपमा हुनेछ।

पहिले नै सहमति थियो, तर कार्यान्वयन ढिलो भयो

यसअघि वैशाख २८ गते गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका पौडेललाई वैशाख २९ कै मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रारम्भिक सहमति भएको थियो। तर, प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयनमा ढिलाइ गर्दै आएका थिए, जसका कारण देउवापक्षमा असन्तुष्टि बढेको थियो।

कांग्रेस नेताहरूले सरकारविरुद्ध संसद् तथा सार्वजनिक मञ्चहरूबाट आलोचना गर्न थालेका थिए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेठ १, त्यसपछि जेठ ५ मा निर्णय लिने बताए पनि अन्ततः बैठक नै नबोलाएपछि स्थिति जटिल बनेको थियो।

एक कांग्रेस नेताका अनुसार, “वैशाख २९ मै नियुक्त गर्ने सहमति भए पनि ओलीले मिति सारिरहनु भयो। पछि अस्वस्थ भएको भन्दै बैठकै रोकिदिनुभयो, जसले देउवाको आक्रोश चुलियो।”

यही असन्तुष्टिका कारण देउवाले पछिल्लो पटक तय गरिएको भेटसमेत स्थगित गरेका थिए। त्यसयता दुई नेताबीच संवादसमेत बन्द थियो।

तर प्रधानमन्त्री ओलीको निरन्तर आग्रहपछि देउवा मङ्गलवार भेट्न सहमत भएका थिए। छोटो छलफलमा देउवाले पुरानो सहमतिको हिसाब मागेका थिए। “अब पनि कार्यान्वयन नहुने हो भने अर्को विकल्प खोजौं,” देउवाले स्पष्ट शब्दमा बताएका थिए।

देउवाको आक्रोशपछि प्रधानमन्त्री ओलीले आजै निर्णय टुंगो लगाउने वाचा गरेका हुन्। त्यसअनुसार सिफारिस समितिको बैठक बोलाइएपछि मन्त्रिपरिषद् बैठक तयारी अवस्थामा छ।

राष्ट्र बैंक दुई महिना कामुमा चल्यो

पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल अन्त्यसँगै चैत २४ देखि राष्ट्र बैंक डेपुटी गभर्नर नीलम ढुंगानाको कार्यवाहक नेतृत्वमा चलिरहेको छ। गभर्नर नियुक्ति नहुँदा नीति निर्णयमा समेत ढिलाइ हुँदै आएको थियो।

अब सहमति कार्यान्वयन भई प्रा.डा. विश्वनाथ पौडेलको नियुक्ति भएमा राष्ट्र बैंकले स्थायित्व पाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया