सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत शाखा अधिकृत सस्मिता लुइँटेल ६३ दिनदेखि बेपत्ता भएकी छिन्। उनीमाथि व्यापारी, ठेकेदार र सर्वसाधारणसहित दर्जनौं व्यक्तिसँग करोडौं रुपैयाँ सापटी लिएर नतिरेको आरोप लागेको छ।

प्राप्त विवरणअनुसार, लुइँटेलविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा हालसम्म दुईवटा उजुरी परेका छन्। प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, एउटा उजुरी इटहरी क्षेत्रभित्रको भएकाले अनुसन्धान अघि बढाइएको छ भने अर्को उजुरी बेलबारी क्षेत्रअन्तर्गत पर्न आएपछि सोही कार्यालयमा पठाइएको छ।

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले लुइँटेल ६३ दिनदेखि कार्यालयमा नआएको पुष्टि गरे। “उहाँले विदाको निवेदन दिनुभएको छ तर स्वीकृत गरिएको छैन,” भट्टराईले भने।

लुइँटेलमाथि हालसम्म झापा, मोरङ र सुनसरीका विभिन्न स्थानका व्यक्तिहरूले ६ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको आरोप लगाएका छन्। झापाको अर्जुनधारा नगरपालिका–८ की तुलासा प्रधानले २० लाख रुपैयाँ फिर्ता नपाएको उजुरी दिएकी छन्। त्यही ठाउँकी कुमारी भण्डारीले ९ लाख, इटहरी लबीपुरका व्यापारी विपिन भट्टराईले २४ लाख, र खनार स्वास्थ्य चौकीका विकास पौडेलले ४ लाख ५० हजार रुपैयाँ लिई नदिएको दाबी गरेका छन्।

लुइँटेल अघिल्लो भदौ ६ गते झापाको अर्जुनधाराबाट इटहरीमा सरुवा भएर वडा नं. १७ र २० मा सचिवका रूपमा कार्यरत थिइन्। उनीमाथि उजुरी दिनेको संख्या दिनानुदिन बढ्दो क्रममा छ।

प्रहरीको भनाइमा, उजुरी अनुसन्धानको चरणमा रहेको र आवश्यक प्रमाण संकलन भईरहेको जनाइएको छ। साथै, लुइँटेलको खोजी कार्य पनि सक्रिय रूपमा भइरहेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया