विराटनगर– कोशी प्रदेशसभा बैठकमा सहभागी हुन आउँदै गरेका चारजना सांसद सवार गाडी र प्रहरी उपरीक्षक (डीएसपी) सवार कारबीच शुक्रबार बिहान पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको छ। दुर्घटनामा दुबै सवारी साधन क्षतिग्रस्त भए पनि सवार सबै व्यक्तिहरू सामान्य घाइते भएका छन्।
दुर्घटनामा पाँचथरकी नेपाली कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल, तथा मोरङकी नेकपा एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङ सवार थिए। उनीहरू चढेको गाडी सांसद श्रेष्ठको थियो।
सांसद विद्या चाम्लिङले दुर्घटनाको क्षण सम्झँदै भनिन्, “बैठकका लागि आउँदै थियौं, अचानक हाम्रो गाडी ठोक्कियो। अहिले जिउ दुखिरहेको छ, अस्पताल जाँदैछौं। बैठकमा जान सकिएन। कसरी पो बाँचियो भनेर आफैंलाई आश्चर्य लागिरहेको छ।”
चाम्लिङका अनुसार पश्चिमतर्फबाट आइरहेको कारले उनीहरू सवार गाडीलाई ठक्कर दिँदा गाडी सडकमा पल्टिएको थियो। उनले थपिन्, “हामी भित्रैबाट ‘ए ए ए’ भन्दै थियौं, तर कारले ठोक्कायो। हामी ३–४ पल्ट पल्टियौं। साँच्चै, ज्यान जोगिएकोमा भाग्यमै होला।”
दुर्घटनामा संलग्न कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाइरहेका थिए। सांसद सवार गाडीका चालक भेसराज श्रेष्ठको अवस्था पनि सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।
प्रहरीका अनुसार, दुवै सवारीमा सवार सबैको अवस्था सामान्य छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।