- सन्तोष यादव /सुनसरी

इटहरी — कानुनी प्रक्रिया नपु¥याई सञ्चालनमा रहेको खनारस्थित एक अक्सफाल्ट उद्योग स्थानीय विरोधपछि अन्ततः बन्द गरिएको छ। रंगेलीमा दर्ता भए पनि इटहरी उपमहानगरपालिकाको खनारमा अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको यो उद्योगले लामो समयदेखि स्थानीय बासिन्दालाई धुवाँ, धुलो र दुर्गन्धले हैरान बनाउँदै आएको थियो।

व्यवसायी अविनास बोहराको नाममा दर्ता रहेको उक्त अक्सफाल्ट प्लान्टले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सञ्चालन गर्दै आएको पाइएको छ। अलकत्रा र गिट्टी मिसाएर कालोपत्रे सडकका लागि सामग्री उत्पादन गर्ने यो प्लान्टले शान्ति टोलमा अत्यधिक प्रदूषण फैलाउँदै आएको थियो। स्थानीयवासीहरूका अनुसार, धुवाँ र कालो मुस्लोका कारण घरभित्र बस्न समेत मुस्किल हुने अवस्था आएको थियो।

स्थानीयको दबाबपछि कारबाही

विरोधका क्रमशः गम्भीर बन्दै गएपछि इटहरी उपमहानगरपालिकाले कानुनी प्रक्रिया अन्तर्गत उद्योगमाथि कारबाही थालेको हो। उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरीका अनुसार, आवश्यक अनुमति र वातावरणीय स्वीकृति बिना सञ्चालन गरिएको उद्योग तत्काल बन्द गर्न निर्देशन दिइएको छ।

इटहरी–१२ का वडा अध्यक्ष भुवनराज पोखरेलको नेतृत्वमा स्थानीय बासिन्दाले प्लान्टमै पुगेर उद्योग बन्द गराएका थिए। उनले उद्योगले न केवल वातावरण प्रदूषित गरेको,राजस्व छली समेत गरेको दाबी गरेका छन्। ूअनुमतिविहीन रूपमा व्यवसाय सञ्चालन गर्नुका साथै सरकारले उठाउनुपर्ने राजस्वसमेत छलिएको पाइएकाले थप कानुनी कारबाही अगाडि बढाइनेछ,ू उनले बताए।

आयोजनाको नाममा निजी स्वार्थ

शुरुआतमा रानी–विराटनगर–धरान छ लेन सडक निर्माणका लागि स्थापना गरिएको भनिएको प्लान्टले हाल आयोजनाको काम सकिएपछि पनि निजी प्रयोजनमा उद्योग सञ्चालन गरेको पाइएको छ। विद्यमान कानुनअनुसार यस्तो उद्योग मानव बस्ती तथा संवेदनशील प्राकृतिक क्षेत्रभन्दा टाढा राख्नुपर्ने प्रावधान छ।

वातावरणीय विशेषज्ञका अनुसार, अक्सफाल्ट प्लान्टबाट निस्कने रसायनजस्तै बिटुमिन, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, र नाइट्रोजन अक्साइड जस्ता तत्वले दीर्घकालीन रूपमा फोक्सो, छाला, र मस्तिष्कमा असर पुर्‍याउँछन्।

स्थानीय बासिन्दा चन्द्रकला खतिवडा भन्छिन्, “हामीले विगत केही महिनादेखि दम, खोकी, आँखामा पोल्ने, टाउको दुख्ने जस्ता समस्या खेपिरहेका छौँ। प्लान्ट खुलेको समयमा अवस्था झनै भयावह हुन्छ।”

स्वास्थ्यकर्मीहरूका अनुसार बालबालिका, वृद्ध तथा पहिल्यै रोगी रहेका व्यक्तिहरू यस्ता प्रदूषकको प्रत्यक्ष चपेटामा पर्न सक्छन्। यसले सास फेर्न गाह्रो हुने, फोक्सोको विकासमा अवरोध, र शारीरिक कमजोरी निम्त्याउने खतरा रहन्छ।

त्यसैगरी, गन्ध, ध्वनि प्रदूषण र वातावरणीय तनावले स्थानीयको मानसिक स्वास्थ्यमा समेत असर पुर्‍याएको छ। लामो समयको तनाव, निद्रामा समस्या, चिडचिडापन, र सामाजिक सम्बन्धमा दरारजस्ता मनोवैज्ञानिक असर देखिन थालेका छन्।

प्राविधिक तथा नियामक कमजोरीमा प्रश्न

वातावरणविद् डा। सुरेश भट्टराईका अनुसार, “बस्ती नजिक अक्सफाल्ट प्लान्ट सञ्चालन हुनु नै वातावरणीय अन्याय हो। यस्तो उद्योगमाथि सरकारले वातावरणीय मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ।”

उनले नियमनकारी निकायहरू प्लान्टहरूको नियमित अनुगमन गर्न असफल भएको भन्दै आलोचना गरे। यो घटना न केवल स्थानीय स्तरको वातावरणीय समस्या हो, बरु यसले नियमनकारी निकायहरूको कमजोरी, कानुनी बेवास्ता र जनस्वास्थ्यको उपेक्षालाई उजागर गरेको छ। यस्ता उद्योगमाथि कठोर कदम चालेर भविष्यमा यस्ता समस्या दोहोरिन नदिने दिशामा सरकारी तत्परताको अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया