
इटहरी—खनार ट्राफिक प्रहरी कार्यालयमा नेतृत्व परिवर्तन भएको छ। ट्राफिक प्रहरीका असइ राजाराम यादव कार्यकाल पूरा गरी विदा भएसँगै, नयाँ जिम्मेवारी ट्राफिक प्रहरीका सइ युवराज श्रेष्ठले सम्हालेका छन्।
करिब सात महिनाअघि खनार ट्राफिक कार्यालयको कमान सम्हालेका असइ यादवले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार गरेका थिए। विशेषगरी इटहरीदेखि खनारको ट्रान्सपोर्ट लाइनमा ट्रकहरुको अव्यवस्थित पार्किङविरुद्ध कडा कारबाही गर्दै उनले क्षेत्रमा ट्राफिक अनुशासन कायम गर्न सफल भएका थिए। ट्राफिक दुर्घटनाको दृष्टिले संवेदनशील मानिने उक्त क्षेत्रमा सुधार देखिएको स्थानीय प्रतिनिधिहरू बताउँछन्।
यातायात व्यवस्था कार्यालय इटहरी तथा विभिन्न पार्टी प्यालेसहरुअघि पार्किङ्ग गर्ने सवारीसाधन हटाउने, ट्राफिक चेतनामूलक संकेत बोर्डहरू स्थापनाजस्ता कार्यमार्फत उनले आम सर्वसाधारण र सवारी चालकहरूलाई सचेत तुल्याउने पहल गरेका थिए।
इटहरी उपमहानगरपालिका–१२ का वडा अध्यक्ष भुवनराज पोख्रेलका अनुसार असइ यादवको छोटो कार्यकाल प्रभावशाली मात्र होइन, जनमैत्री पनि रह्यो। उनले खनार चौकमा सिटी सफारीको जथाभावी पार्किङलाई समेत केही हदसम्म व्यवस्थित गरेका थिए।
मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्नेहरूमाथि शून्य सहनशीलताको नीति अपनाउँदै उनले ट्राफिक नियम उल्लङ्घनकर्तामाथि कठोर कारबाही गरेका थिए। इटहरी–१३ का वडा अध्यक्ष चन्देश्वर सरदारका अनुसार, यादवको निडर र कर्तव्यपरायण कार्यशैलीले ट्राफिक सुरक्षा र अनुशासनमा सकारात्मक प्रभाव पारेको छ।
यता, हालै सरुवा भई नयाँ जिम्मेवारी सम्हालेका सइ युवराज श्रेष्ठले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी र नमुना बनाउने प्रतिबद्धता जनाएका छन्। खनार प्रहरी चौकीमा आयोजित स्वागत कार्यक्रममा बोल्दै श्रेष्ठले स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणसँग सहकार्य गर्दै कार्यक्षेत्रलाई अनुशासित र व्यवस्थित बनाउने संकल्प व्यक्त गरे।
लामो समय विराटनगरस्थित डीआइजि कार्यालयमा सेवा पुर्याइसकेका श्रेष्ठ हालै इटहरी स्थित ट्राफिक प्रदेश कार्यालयमा कार्यरत थिए। अनुभवी र गतिशील प्रहरी अधिकृतको रूपमा परिचित श्रेष्ठको आगमनसँगै खनार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा थप सुधार हुने अपेक्षा गरिएको छ।







