सुनसरी — विश्व उच्च रक्तचाप दिवस (World Hypertension Day) को अवसर पारेर सुनसरीको धरानमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतना अभिवृद्धि कार्यक्रम सुरु गरिएको छ। “रक्तचाप नापौं, जीवन बचाऔं” भन्ने नाराका साथ हरेक वर्ष मे १७ तारिखमा मनाइने यस दिवसलाई लक्षित गर्दै धरानको भानुचोक, घण्टाघरमा बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने यो कार्यक्रम वैशाख २६ गतेदेखि जेठ १७ गतेसम्म चल्नेछ।
कार्यक्रमको आयोजना स्वास्थ्य क्षेत्रमा कार्यरत विद्यार्थी संस्था ‘सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी इकाइ, धरान’ ले गरेको हो। शिविरमा रक्तचाप, मधुमेह, क्रियाटिनिन लगायतका निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिँदैछ।
संस्थाका जनसम्पर्क अधिकारी प्रविन भट्टराई का अनुसार हालसम्म करिब ५०० सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिसकिएको छ। तीमध्ये धेरैमा उच्च रक्तचापको समस्या देखिएको छ। उनले भने, “अस्वस्थ खानपान, व्यायामको अभाव र तनावका कारण उच्च रक्तचापको समस्या दिनदिनै बढ्दो छ।”
उनका अनुसार, यो अभियानले विशेषगरी रक्तचाप र मधुमेहजस्ता रोगहरूको प्रारम्भिक पहिचानमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ। साथै, नागरिकहरूमा स्वास्थ्यप्रति सचेतना फैलाउँदै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने लक्ष्य पनि रहेको छ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभर झण्डै १ अर्ब २८ करोडभन्दा बढी मानिसहरू उच्च रक्तचापबाट प्रभावित छन्, जसमा करिब आधाले मात्र यसको पहिचान गरेका हुन्छन्। नेपालमा पनि यो समस्या द्रुत गतिमा बढिरहेको भन्दै चिकित्सकहरूले समयमै परीक्षण र सचेतना आवश्यक रहेको बताउँछन्।